२२ वर्षदेखि रोकिएको सम्यक् महादानको तयारी तीव्र : परम्परा जोगाउन कार्यवाहक प्रमुख, डंगोलको नेतृत्व

काठमाडौँ,  असोज २८ । पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको सांस्कृतिक परम्परा समयक्रममा ओझेल पर्दै जान थालेपछि त्यसलाई पुनर्जीवित गर्नु चुनौतीपूर्ण बन्दै गएको छ । काठमाडौँ उपत्यकाको प्राचीन बौद्ध परम्परा ‘सम्यक् महादान’ पनि लामो समयदेखि नियमित रूपमा सञ्चालन हुन नसक्दा यसको निरन्तरता र पुस्तान्तरणको प्रश्न उठेको छ । यही परम्परालाई पुनर्जीवन दिने उद्देश्यसहित काठमाडौँ महानगरपालिकाले आगामी माघ १ गते आयोजना गर्ने महादानको तयारी तीव्र बनाएको छ ।

सम्यक् महादानलाई एउटा धार्मिक समारोहमा मात्र सीमित नराखी यसको मौलिक स्वरूप, विधि, प्रक्रिया र सांस्कृतिक महत्त्वलाई अभिलेखीकरण गर्दै भावी पुस्तासम्म पुर्‍याउने लक्ष्य महानगरपालिकाले लिएको छ । यसका लागि कार्यवाहक प्रमुख सुनिता डंगोलको प्रमुख संयोजकत्वमा मूल समारोह समिति, कार्यान्वयन समिति र विभिन्न विषयगत उपसमिति गठन गरी तयारी अघि बढाइएको छ ।

महानगरपालिकाको कार्यपालिका बैठक कक्षमा आज आयोजित बैठकमा पाँचवटा उपसमितिका संयोजक तथा सदस्यहरूले हालसम्म भएका काम, तत्काल गर्नुपर्ने तयारी, महादानको दिनसम्म सम्पन्न गर्नुपर्ने कार्य र त्यसपछिका जिम्मेवारीबारे छलफल गरेका छन्। सीमित समयभित्र सबै पक्षलाई समेटेर कार्यक्रम सफल बनाउनुपर्नेमा बैठकले जोड दिएको छ ।

‘यो वर्ष महादानका लागि जुटौँ’

मूल समारोह समितिका प्रमुख संयोजक एवं कार्यवाहक प्रमुख डंगोलले सम्यक् महादानलाई महत्त्वपूर्ण सांस्कृतिक जिम्मेवारीका रूपमा लिनुपर्ने बताउनुभयो। उहाँले समय कम भएकाले सबै उपसमिति र सरोकारवाला पक्षले समन्वयमा रहेर दिनरात काम गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो।

‘हामीसँग समय कम छ। रातदिन काम गरौँ। पर्वका नियमित तालिका अर्को वर्ष पनि आउँछन्। तर, महादानको तयारी अर्को वर्ष गर्नुपर्दैन। यसकारण यस वर्ष महादानका लागि जुटौँ,’ उहाँले भन्नुभयो।

महादानको तयारीमा कसैलाई पनि जानाजान छुटाउने उद्देश्य नरहेको स्पष्ट पार्दै उहाँले सहभागिता र अपनत्व सुनिश्चित गर्न सबैलाई आग्रह गर्नुभयो। कुनै व्यक्ति वा समुदायले आफू छुटेको महसुस गरेमा सचिवालयमा सम्पर्क गरी आफ्नो भूमिका स्पष्ट गर्न सक्ने उहाँको भनाइ थियो।

महानगरपालिकाले विनियोजन गरेको बजेटले मात्रै महादानको सम्पूर्ण आवश्यकता पूरा नहुने उल्लेख गर्दै कार्यवाहक प्रमुख डंगोलले दाताहरूको योगदानलाई महत्त्वपूर्ण बताउनुभयो। उहाँका अनुसार आर्थिक सहयोगसँगै समुदायको सक्रिय सहभागिता र अपनत्वले नै परम्परालाई जीवन्त राख्न मद्दत गर्छ।

‘सम्यक् महादानलाई कार्यक्रमका रूपमा मात्र हेरेका छैनौँ। यसबाट सम्यक् गर्ने विधि र प्रक्रियालाई दस्तावेजीकरण पनि गर्दैछौँ। पुस्ताका लागि यो महत्त्वपूर्ण हुनेछ,’ उहाँले भन्नुभयो।

यस भनाइले महादानको आयोजना तत्कालीन धार्मिक आवश्यकता पूरा गर्ने काम मात्र नभई भविष्यका पुस्ताले यसको विधि र मौलिकता बुझ्न सक्ने आधार तयार पार्ने प्रयाससमेत भएको देखाउँछ।

समुदायको सहभागिता नै मुख्य आधार

मूल समारोह समितिका संयोजक प्रा. डा. नरेशमान बज्राचार्यले नयाँ पुस्ताले बिर्सन थालेको परम्परालाई पुनः सञ्चालन गर्न महानगरपालिकाले नेतृत्व लिएको बताउनुभयो। छोटो समयमा धेरै काम गर्नुपर्ने भए पनि सबै पक्ष एकजुट भएमा कार्यक्रम सफल बनाउन सकिने उहाँको विश्वास छ।

सम्पदा तथा पर्यटन समितिका संयोजक एवं वडा नं. ८ का अध्यक्ष आशामान संगतले संस्कार, संस्कृति र परम्पराको संरक्षणमा सम्बन्धित समुदायको भूमिका सुनिश्चित गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले सम्यक् महादान आर्थिक स्रोतले मात्र सम्पन्न हुने कार्यक्रम नभई समुदायको सामूहिक सहभागिता र सम्बन्धमा आधारित परम्परा भएको उल्लेख गर्नुभयो।

महादान आयोजना हुने स्थान रहेको वडा नं. १५ का अध्यक्ष ईश्वरमान डंगोलले धार्मिक, सामाजिक तथा सांस्कृतिक परम्पराको पुस्तान्तरण नै आयोजनाको प्रमुख उद्देश्य भएको बताउनुभयो। उहाँका अनुसार उपत्यकावासीले लामो समयदेखि प्रतीक्षा गरेको महादानलाई सफल बनाउन तयारीका काम अघि बढिरहेका छन्।

१३ उपसमितिमार्फत तयारी

महादानको सञ्चालन तथा व्यवस्थापनका लागि महानगरपालिकाले असोज ८ गते कार्यवाहक प्रमुख डंगोलको प्रमुख संयोजकत्वमा ३०१ सदस्यीय मूल समारोह समिति गठन गरेको थियो। त्यसैगरी, उहाँकै अध्यक्षतामा ३७ सदस्यीय कार्यान्वयन समिति गठन गरिएको छ। कार्यान्वयन समितिअन्तर्गत क्षेत्रगत जिम्मेवारी पूरा गर्न १३ वटा उपसमिति बनाइएका छन्।

तीमध्ये मञ्जुश्रीरत्न बज्राचार्यको संयोजकत्वमा ४४ सदस्यीय पूजा, दान तथा दाता उपसमिति, संघरत्न शाक्यको संयोजकत्वमा १५ सदस्यीय देवता निमन्त्रण उपसमिति, अमीरमान शाक्यको संयोजकत्वमा १७ सदस्यीय सांस्कृतिक उपसमिति र डा. सुरेन्द्रमान बज्राचार्यको संयोजकत्वमा १० सदस्यीय अभिलेखन तथा प्रकाशन उपसमिति गठन गरिएको छ।

त्यसैगरी, महानगरपालिकाको प्रशासन महाशाखा प्रमुख रामप्रसाद सापकोटाको संयोजकत्वमा सात सदस्यीय स्थान व्यवस्थापन उपसमिति गठन गरिएको छ। भोजन व्यवस्थापन, स्वयंसेवक परिचालन, यातायात तथा ढुवानी, स्वास्थ्य, प्रचारप्रसार, आर्थिक, सुरक्षा र खाजा तथा खाना व्यवस्थापनसम्बन्धी उपसमितिमा भने संयोजक तथा सदस्य तोक्ने काम बाँकी रहेको महानगरपालिकाले जनाएको छ।

समितिहरूको गठनसँगै अब तयारीलाई थप व्यवस्थित बनाउने, आवश्यक स्रोत जुटाउने, धार्मिक तथा सांस्कृतिक विधिअनुसार कामको बाँडफाँट गर्ने र विभिन्न समुदायबीच समन्वय बढाउने चुनौती छ।

२२ वर्षदेखि रोकिएको गुठी सम्यक्

सम्यक् महादान नेपाल मण्डलको महत्त्वपूर्ण बौद्ध धार्मिक तथा सांस्कृतिक परम्परा हो। नेपाल मण्डलमा सम्यक् महादान मुख्यतः दुई प्रकारले गरिँदै आएको प्रा. डा. बज्राचार्य बताउनुहुन्छ। इच्छाअनुसार आयोजना गरिने सम्यक्लाई ‘ऐच्छिक सम्यक्’ र गुठीमार्फत आयोजना गरिनेलाई ‘गुठी सम्यक्’ भनिन्छ।

काठमाडौँमा गुठी सम्यक् पहिले तीन फरक खलकले प्रत्येक चार वर्षमा आयोजना गर्ने गरेका थिए। पछि ती तीन समूह एकीकृत भएर प्रत्येक १२ वर्षमा एकपटक महादान आयोजना गर्ने परम्परा बसेको थियो। तर, गुठी सम्यक् पछिल्लो २२ वर्षदेखि हुन सकेको छैन। त्यस्तै, ऐच्छिक सम्यक् पनि २५ वर्षदेखि आयोजना भएको छैन ।

लामो समयदेखि दुवै प्रकारका सम्यक् आयोजना हुन नसकेपछि अमूर्त सम्पदाको संरक्षण गर्ने कार्यक्रमअन्तर्गत महानगरपालिकाले यस वर्ष महादान सञ्चालन गर्न लागेको हो। यसअघि विसं २०६१ मा महादान आयोजना गरिएको थियो ।

दान, करुणा र सामूहिक कल्याणको परम्परा

बौद्ध धर्मावलम्बीका धार्मिक क्रियाकलापमा दानको विशेष महत्त्व रहँदै आएको छ । नेपालमा पञ्जरां अर्थात् पञ्चदान, ऐच्छिक पञ्जरा, नराँ पञ्जरां र निश्चित अन्तरालमा आयोजना गरिने सम्यक् महादानजस्ता परम्परा प्रचलित छन् । यी दान परम्पराले धार्मिक आस्था अभिव्यक्त गर्नुका साथै सामाजिक सम्बन्ध, सामुदायिक एकता र परोपकारको भावनालाई बलियो बनाउँदै आएका छन् ।

यीमध्ये सम्यक् महादानलाई सबैभन्दा महत्त्वपूर्ण, कठिन र दुर्लभ धार्मिक अनुष्ठानमध्ये एक मानिन्छ। यसमा काठमाडौँ सहरका दीपङ्कर बुद्धका मूर्तिलगायत प्रमुख बौद्ध मन्दिरका देवदेवीलाई निमन्त्रणा गरी विधिपूर्वक विराजमान गराउने, पूजा गर्ने र दानदक्षिणा अर्पण गर्ने परम्परा छ । साथै, नेपाल मण्डलका बज्राचार्य, बुद्धाचार्य, शाक्यभिक्षु तथा चैलक भिक्षुलगायत धार्मिक समुदायका सदस्यलाई परम्पराअनुसार आवश्यक सामग्री दान गर्ने व्यवस्था मिलाइन्छ ।

महादान दुई दिनसम्म सञ्चालन हुने परम्परा छ । पहिलो दिन हनुमानढोकामा र दोस्रो दिन स्वयम्भूस्थित भुइँखेलमा कार्यक्रम आयोजना गरिन्छ। धार्मिक विधि, देवदेवीको निमन्त्रणा, दान सामग्रीको व्यवस्था, सहभागीको व्यवस्थापन र विभिन्न समुदायबीचको समन्वय यसका प्रमुख तयारी हुन् ।

महानगरपालिकाले आर्थिक वर्ष २०८३/८४ को स्वीकृत नीति, कार्यक्रम तथा बजेटमा सम्यक् महादान सञ्चालन गर्ने कार्यक्रम समावेश गरेको छ। प्राचीन सांस्कृतिक महत्त्व बोकेको यस परम्पराले काठमाडौँ उपत्यकाका बौद्धमार्गी नेवार समुदायलाई सामूहिक कल्याणको कार्यमा जोड्नुका साथै मानव जाति र समग्र चराचर जगतको कल्याणको कामना गर्ने करुणामयी भावनालाई संस्थागत गर्ने अपेक्षा गरिएको छ ।

सम्यक् महादानको पुनःआयोजनाले लामो समयदेखि रोकिएको परम्परालाई निरन्तरता दिने अवसर प्रदान गरेको छ। तर, यसको दीर्घकालीन सफलता एकपटक कार्यक्रम सम्पन्न गर्नुमा मात्र निर्भर रहने छैन। परम्परासँग जोडिएका समुदायको सक्रिय सहभागिता, दानदाताको सहयोग, मौलिक विधिको संरक्षण र अभिलेखीकरणले नै यसलाई भावी पुस्तासम्म जीवन्त राख्न महत्त्वपूर्ण भूमिका खेल्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *