होर्मुज जलसन्धिमा दुई मालवाहक जहाज डुबे, सामुद्रिक सुरुङ (माइन) र क्षेप्यास्त्र प्रहार भएको इरानको दाबी
यसअघि, सिङ्गापुरका दुईवटा मालवाहक जहाजहरूमाथि पनि क्षेप्यास्त्र/प्रोजेक्टाइल प्रहार भएको थियो। आक्रमणका कारण एउटा जहाज समुद्रमा डुबेको छ भने अर्को जहाज भने सुरक्षित रूपमा बन्दरगाहसम्म पुग्न सफल भएको अन्तर्राष्ट्रिय मिडियाहरूले जनाएका छन्।
काठमाडौँ । विश्वकै महत्त्वपूर्ण व्यापारिक जलमार्ग ‘होर्मुज जलसन्धि’ मा इरानी आक्रमण र तनाव निरन्तर बढ्दै जाँदा दुईवटा मालवाहक (कार्गो) जहाजहरू डुबेका छन्। आक्रमणका कारण सो जलमार्गमा व्यापारिक जहाजहरूको आवतजावत ठप्पप्रायः बनेको छ।
इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (IRGC) को नौसेनाका अनुसार बुधबार बिहान एउटा मालवाहक जहाज सामुद्रिक सुरुङ (Naval Mine) मा ठोक्किएर डुबेको छ।
गैरकानुनी मार्गमा गुड्दा दुर्घटना भएको इरानी दाबी
इरानी सरकारी टेलिभिजनले आईआरजीसीको विज्ञप्तिलाई उद्धृत गर्दै उक्त जहाज इरानको अनुमतिविना “गैरकानुनी र जोखिमपूर्ण मार्ग” बाट अघि बढ्ने क्रममा माइन्समा ठोक्किएको जनाएको छ। टेलिभिजन दृश्यहरूमा धुवाँको बाक्लो बादल फाल्दै पानीमा ढल्केको अवस्थामा देखिएको सो जहाजमा करिब २,५०० वटा कन्टेनरहरू लोड थिए।
जहाजमा सवार चालक दलका सदस्यहरूको अवस्थाबारे भने इरानी अधिकारीहरूले कुनै विस्तृत विवरण सार्वजनिक गरेका छैनन्।
इरानले आफ्नो पूर्वस्वीकृतिविना होर्मुज जलसन्धिबाट आवतजावत नगर्न अन्तर्राष्ट्रिय जहाजहरूलाई पटक-पटक चेतावनी दिँदै आएको छ। यसैबीच, अमेरिकी सेनाले भने ओमानको तट नजिकैको सुरक्षित मार्ग प्रयोग गरी व्यापारिक जहाजहरूलाई जलसन्धि पार गराउन सहयोग गर्दै आएको छ।
सिङ्गापुरका दुई जहाजमाथि प्रहार
यसअघि, सिङ्गापुरका दुईवटा मालवाहक जहाजहरूमाथि पनि क्षेप्यास्त्र/प्रोजेक्टाइल प्रहार भएको थियो। आक्रमणका कारण एउटा जहाज समुद्रमा डुबेको छ भने अर्को जहाज भने सुरक्षित रूपमा बन्दरगाहसम्म पुग्न सफल भएको अन्तर्राष्ट्रिय मिडियाहरूले जनाएका छन्।
होर्मुज जलसन्धिमा निरन्तर भइरहेका यस्ता आक्रमणहरूका कारण मध्यपूर्वमा समुद्री सुरक्षा र विश्वव्यापी इन्धन तथा मालसामानको आपूर्तिमा गम्भीर सङ्कट पैदा भएको छ।
