पाँच देशका राजदूतद्वारा राष्ट्रपति पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत
राजदूत
काठमाडौँ, २८ असोज । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालका लागि पाँच देशका राजदूतले ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्नुभएको छ ।
राष्ट्रपति भवनमा आज आयोजित विशेष समारोहमा नेपालका लागि युरोपेली सङ्घका आवासीय प्रतिनिधिमण्डल प्रमुख राजदूत चाल्र्स ह्वीट्लीले राष्ट्रपति पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेस गर्नुभएको हो ।
त्यसैगरी, इन्डोनेसिया, घाना, सुडान र ब्रुनाइका गैरआवासीय राजदूतहरू क्रमशः लिस्त्योवाती, कोजो बोन्सु, मोहम्मद अब्दल्ला अली इल्टोम र सिती आर्निफरिजा बिन्ती हाजी मोहद जैनीले पनि आ-आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्नुभएको छ ।
समारोहमा नेपाल सरकारका उच्चपदस्थ अधिकारीहरूको उपस्थिति थियो ।
यसअघि राजदूतहरूलाई लाजिम्पाटदेखि राष्ट्रपति भवनसम्म रिसल्लासहितको बग्गीमा सवारी गराइएको थियो ।
