नेपालबाट मनसुन पूर्ण रूपमा बाहिरियो, सरदर मितिभन्दा १२ दिन ढिलो
काठमाडौँ, २८ असोज। यस वर्षको मनसुन नेपालको सम्पूर्ण भूभागबाट बाहिरिएको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले बुधबार मनसुन बहिर्गमन बुलेटिन जारी गर्दै मनसुन पूर्ण रूपमा बाहिरिएको जनाएको हो।
महाशाखाका अनुसार यस वर्ष असोज १७ गतेदेखि मनसुन बाहिरिन थालेको थियो। पहिलो चरणमा सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका पश्चिमी भूभागका अधिकांश स्थान तथा गण्डकी प्रदेशका पश्चिमी भूभागका केही स्थानबाट मनसुन बाहिरिएको थियो।
बुधबारदेखि भने देशभरबाट मनसुन बाहिरिएको महाशाखाले पुष्टि गरेको छ। नेपालबाट मनसुन बाहिरिने सरदर मिति अक्टोबर २ अर्थात् असोज १६ गते भए पनि यस वर्ष अक्टोबर १४ अर्थात् असोज २८ गते मात्रै मनसुन बाहिरिएको हो। यसअनुसार मनसुन सरदर मितिभन्दा १२ दिन ढिलो बाहिरिएको छ।
मनसुन बाहिरिएसँगै दसैँका बेला मौसम अनुकूल रहने अपेक्षा गरिए पनि स्थानीय वायु र पश्चिमी वायुको प्रभाव कायमै रहन सक्ने महाशाखाले जनाएको छ। त्यसैले मनसुन बाहिरिँदैमा वर्षाको सम्भावना पूर्ण रूपमा टरेको भने छैन।
