विपद् जोखिम न्यूनीकरणसम्बन्धी राष्ट्रिय सम्मेलन सम्पन्न
ललितपुर, २८ असोज । अन्तरराष्ट्रिय विपद् जोखिम न्यूनीकरण दिवसका अवसरमा आयोजित विपद् जोखिम न्यूनीकरणसम्बन्धी पाँचौँ राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ । ‘उत्थानशीलताको सुरुआत घरबाटै’ भन्ने नाराका साथ मङ्गलबारदेखि सुरु भएको सम्मेलनमा विपद् जोखिम न्यूनीकरण, व्यवस्थापन र उत्थानशीलताका विभिन्न विषयमा छलफल भएको थियो ।
सम्मेलनको अन्तिम दिन आज आठवटा समूह छलफल तथा छोटा प्रस्तुति भएका थिए । बिहानको सत्रमा भोटेकोशी बाढीपछि व्यवसायको पुनःस्थापना र पुनर्निर्माण तथा विपद् जोखिम व्यवस्थापनमा तथ्याङ्क, प्रविधि र नवप्रवर्तनको प्रयोगबारे छलफल भएको थियो ।
त्यसैगरी, समावेशी उत्थानशीलता, मनोसामाजिक कल्याण, सबैलाई समेट्ने उपाय तथा जलवायु उत्थानशील गाउँ निर्माणका नीति र अभ्यासबारे विज्ञ तथा अध्येताले विचार राखेका थिए । सम्मेलनका नवौँ र दसौँ सत्रमा विपद् जोखिम न्यूनीकरणका असल अभ्यासबारे प्रस्तुति गरिएको थियो । एघारौँ सत्रमा संरचनात्मक तथा गैरसंरचनात्मक उपायको एकीकरण, बहुप्रकोपीय जोखिम आकलन र सबैका लागि पूर्वसूचनासम्बन्धी विषयमा छलफल भएको थियो ।
सो अवसरमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा धर्मराज उप्रेती, जल तथा मौसम विज्ञान विभागका महानिर्देशक डा अर्चना श्रेष्ठ, जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रका उपकार्यकारी निर्देशक डा राजन भट्टराई र खानी तथा भूगर्भ विभागका उपमहानिर्देशक डा गणेश त्रिपाठी सहभागी हुनुहुन्थ्यो ।
समापन सत्रमा प्राधिकरणका कार्यकारी प्रमुख डा उप्रेतीले सम्मेलन र छलफलले विपद् जोखिम न्यूनीकरणका लागि नयाँ समाधान खोज्न सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले आगामी वर्षको सम्मेलनमा विपद्बाट हुने क्षति तथा नोक्सानी घटेको तथ्याङ्कसहित छलफल गर्न पाइने आशा व्यक्त गर्नुभयो ।
उहाँले विपद् जोखिम न्यूनीकरणसम्बन्धी सन्देशलाई व्यवहारमा उतार्नुपर्नेमा जोड दिँदै प्राधिकरणले सामूहिक सिर्जना र सहभागितामूलक योजना निर्माणलाई प्राथमिकता दिएको बताउनुभयो ।
