प्रधानन्यायाधीश नियुक्तिबारे बसेको संवैधानिक परिषदकाे बैठक निष्कर्षविहीन
काठमाडौं, ६ वैशाख । प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउन बसेको संवैधानिक परिषदको बैठक निष्कर्षमा नपुगी टुंगिएको छ ।
बैठक पश्चात राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले प्रधानन्यायाधीश नियुक्तिबारे बसेकाे बैठकले कुनै पनि निर्णय गर्न नसकेकाे जानकारी दिनुभयाे ।
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा अनिवार्य अवकाशमा गएपछि २७ मंसिर २०७९ देखि उक्त पद रिक्त छ । हाल कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की हुनुहुन्छ ।
प्रधानमन्त्री अध्यक्ष रहने संवैधानिक परिषदको आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, विपक्षी दलका नेता तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष गणेश प्रसाद तिमिल्सिना, उपसभामुख इन्दिरा राना र कानुन मन्त्रीको समेत जिम्मेवारी पाएका उपप्रधानमन्त्री पूर्णबहादुर खड्का सहभागी हुनुहुन्थ्याे ।
यसअघि प्रमुख तीन दलका नेताहरुको बालकोटमा बसेको बैठकले प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउने सहमति गरेको थियो ।