रामप्रसादको भावुक सन्देशः अनावश्यक कुराहरुमा नबहकिऔँ, चुच्चे नक्सा कसले जारी गर्यो ?
चितवन, १२ वैशाख । चितवन–२ बाट नेकपा (एमाले)का तर्फबाट उम्मेदवार बन्नुभएका रामप्रसाद न्यौपानेले निर्वाचनको हारजितलाई स्वाभाविक रुपमा लिनु पर्ने बताउनु भएको छ । निर्वाचनमा पराजितपछि सामाजिक सञ्जालमा एक सन्देश लेख्दै उहाँले यस्तो बताउनु भएको हो ।
‘मित्रहरू, निर्वाचन हो, जितहार स्वाभाविक लिनुपर्छ । तर, एउटा सत्य कुरा बुझिराख्नुहोला एमालेजनले नेकपा (एमाले) ले यो देशको भलो बाहेक कुभलो के गरेको छ र सकिनलाई हँ ? सामाजिक सुरक्षा भत्ता ल्यायो ? चुच्चे नक्सा कसले जारी गर्यो, कालापानी फिर्ता ल्यायो, नाकाबन्दी हटायो, चीनसँग पारवहन सम्झौता गर्यो, सुरुङयुग सुरु गर्यो , भुकम्पको पुनर्निर्माण गर्यो यस्ता हजारौं कामहरु छन जुन एमालेले गरेको छ,’ उहाँले लेख्नुभएको छ, ‘तर हामी नै भन्न सक्दैनौ । महिलाको ३३ प्रतिशत अधिकार कस्ले ल्यायो ? अहिले विद्यार्थीहरुले यातायातमा पाईरहेको ४५ प्रतिशत छुट कस्ले ल्यायो ? गाउँहरुमा करोडौ बजेट पुर्याउने सुरुवात कस्ले गर्यो ? बिदेशबाट फर्कने युवालाई सहुलियत ऋण दिने शुरूवात कसले गर्यो ?’
उहाँले युवा परिषद कस्ले स्थापना गर्ने, सुखी नेपाली, समृद्ध नेपालको अभियान सुरु गर्ने दल पनि एमाले नै भएको उल्लेख गर्नुभएको छ । ‘अरूको लहलहैमा लागेर अनावश्यक कुराहरुमा नबहकिऔं,’ उहाँले भन्नुभएको छ, ‘यो देशमा केही गर्छ भने एमालेले गर्छ । अरु सबै भ्रम हुन , एउटा माघले जाडो जादैँन हजुर ।’