कीर्तिपुरमा रातो मत्स्येन्द्रनाथकी ‘प्रेमिका’लाई फूल प्रसाद चढाउन नजाने पानेजुहरूको निर्णय

काठमाडौं, १३ वैशाख । रातो मत्स्येन्द्रनाथका पुजारी पानेजुहरूले यो वर्ष कीर्तिपुरस्थित मत्स्येन्द्रनाथकी ‘प्रेमिका’लाई पूmल प्रसाद चढाउन नजाने भएको छ ।

मत्स्येन्द्रनाथका पुजारीहरूको संगठन ‘श्री ह्यगृव भैरवनाथ तथा ३२ पानेजु संघ’ ले हिजो कीर्तिपुरमा उक्त प्रसाद चढाउने जिम्मेवारी पाएका जलपानेजु सुरोजन शाक्ययात पत्र पठाई यो वर्ष कीर्तिपुरमा प्रसाद चढाउन नजानका लागि निर्देशन दिएको हो ।

कीर्तिपुरको गःछेँस्थित प्यंगःथां मध्ये ठाउँमा बुंगद्यः (रातो मत्स्येन्द्रनाथ) र याकः मिसाको प्रतिमूर्ति बनाई स्थापना गरेकोमा रिसाएका पानेजुहरुले उक्त मूर्ति हटाउन आग्रह गर्दा पनि नहटाएका कारण यो वर्ष कीर्तिपुरमा फूल प्रसाद चढाउन नजाने निर्णय गरेको हो ।

पानेजुहरुले प्यंगः थांमा उक्त मूर्तिहरू नहटाएसम्म कीर्तिपुरमा फूल प्रसाद चढाउन नजाने भनी गत पुसमा चेतावनी दिएका थिए ।

हरेक वर्ष रातो मत्स्येन्द्रनाथ जात्राका क्रममा पाटनको थति टोलबाट जावलाखेलतिर रथ तान्ने दिन मत्स्येन्द्रनाथकै प्रतिनिधि पात्रका रुपमा जलपानेजु थति टोलदेखि खालि खुट्टा नै कीर्तिपुरसम्म पैदल गएर फूल प्रसाद चढाउने परम्परा रहँदै आएको छ ।

पानेजुले चढाउने उक्त फूल प्रसाद कीर्तिपुरको प्यंगःथां निवासी एक अविवाहित महिलाले ग्रहण गर्ने गर्दछ । अहिले उक्त प्रसाद स्थानीय लक्ष्मी महर्जनले ग्रहण गर्दै आइरहेको छ । यो परम्परा गत १६७९ वर्षदेखि निरन्तर चल्दै आइरहेको बताइन्छ ।

कीर्तिपुरमा गत मंसिर महिनामा बाजागाजा सहित शोभायात्रा गरी उक्त मूर्ति स्थापना गरिएको थियो । त्यत्रो जात्रा गरी स्थापना गरिएको मूर्ति हटाउनु पर्दा आफ्नो आस्थामा चोट लाग्ने भन्दै मूर्ति स्थापनाका लागि पहल गर्ने स्थानीय सुखी गःछेँ समाजले मूर्ति हटाउन अस्वीकार गर्दै आइरहेको थियो ।

तर पानेजुहरूले यसको विरोध गरेका कारण ललितपुर महानगरपालिका, कीर्तिपुर नगरपालिका र पुरातत्व विभागले समेत मूर्ति हटाएर परम्परादेखि चल्दै आएको संस्कृतिलाई निरन्तरता दिन अनुरोध गरिसकेको छ ।

कीर्तिपुरको सुखी गःछेँ समाजले भने पहिले आफूहरूलाई मूर्ति राख्दा हुन्छ भनेर पुरातत्व विभागले स्वीकृति दिइसकेको कारणले अहिले आफ्नै निर्णयबाट विमुख हुन पाइँदैन भन्ने तर्क राख्दै आइरहेको छ ।

यस विषयमा विभिन्न निकायका बिच विभिन्न चरणमा वार्ता भए पनि निष्कर्ष आउन नसकेका कारण ३२ पानेजु संघले यो वर्ष फूल प्रसाद चढाउन नजाने निर्णय गरेको हो ।

संघका अध्यक्ष यज्ञरत्न शाक्यले जलपानेजु सुरोजन शाक्यलाई लेखेको पत्रमा संघबाट अर्को निर्णय नआएसम्म कसैको दबाब, करकाप र परिबन्दमा परेको बहाना बनाई प्रसाद लाने कार्य नगर्न अनुरोध गरिएको छ ।

पानेजु संघले यो वर्ष फूल प्रसाद नचढाउने निर्णय सार्वजनिक गरे सँगै कीर्तिपुरका स्थानीयहरू बिच सामाजिक सञ्जालमा वादविवाद शुरु भएको छ ।

पाटनमा रातो मत्स्येन्द्रनाथको जात्रा शुरु भइसकेको छ । हिजो मत्स्येन्द्रनाथको रथलाई तानेर गाबहाल पुर्याएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *