गोरखामा स्वास्थ्य बिमा गराउनेमा महिला बढी

गोरखा, १४ वैशाख । गोरखा जिल्लामा ८८ हजारभन्दा बढी नागरिकले स्वास्थ्य बिमामा आवद्ध भएका छन् । स्वास्थ्य बिमा गराउनेमध्ये पुरुषको तुलनामा महिलाको सङख्या बढी रहेको पाइएकाे हाे ।

विसं २०७४ असारबाट जिल्लामा स्वास्थ्य बिमा कार्यक्रम सुरुआत भएको थियो । स्वास्थ्य बिमा बोर्ड कार्यालय गोरखाका प्रमुख विशाल लौडारीका अनुसार एघार स्थानीय तह रहेको जिल्लाभित्र स्वास्थ्य बिमा गराउनेको सङ्ख्या गोरखा नगरपालिकामा सबैभन्दा धेरै रहेका छन् ।

उहाँले जिल्लाको चुमनुब्री गाउँपालिकामा स्वास्थ्य बिमा गराउनेको सङ्ख्या सबैभन्दा न्यून रहेको जानकारी दिनुभयो ।

उहाँले गोरखामा स्वास्थ्य बिमा गराउनेमध्ये पुरुषको तुलनामा महिलाको सङख्या बढी रहेको बताउनुभयो । “स्वास्थ्य बिमा गराएकामध्ये ४२ हजार एक सय १४ जना पुरुष रहेका छन्”, उहाँले भन्नुभयो, “स्वास्थ्य बिमा गराउने महिलाको सङ्ख्या भने गोरखामा ४६ हजार छ सय दुई जना रहेको छ ।”

स्वास्थ्य बिमा गराएकामध्ये एक हजार नौ सय ३३ जना अतिगरिब घरपरिवार पहिचान भएका व्यक्तिको निःशुल्क बिमा गरिएको उहाँले जानकारी दिनुभयो ।

त्यस्तै १५ हजार नौ सय चार जना ज्येष्ठ नागरिक, पाँच सय ९८ जना ‘क’ वर्गका अपाङ्गता भएका व्यक्ति तथा तीन सय ४३ जना एचआइभी सङ्क्रमित व्यक्तिको पनि निःशुल्क बिमा गरिएको उहाँले बताउनुभयो ।

पाँच परिवार भएका परिवारले एक वर्षको रु तीन हजार पाँच सय तिरेपछि एक वर्षसम्म तोकिएको अस्पतालबाट प्रतिव्यक्ति रु एक लाख बराबरको उपचार सेवा प्राप्त गर्ने प्रमुख लौडारीले जानकारी दिनुभयो ।

पाँच जनाभन्दा बढी सदस्य रहेका परिवारले थप एक व्यक्तिको रु सात सय थप गरेर बिमा गर्नसक्ने व्यवस्था रहेको उहाँले जानकारी दिनुभयो ।