कञ्चनपुरमा कोरोना सङ्क्रमण बढ्यो
कञ्चनपुर, १४ वैशाख । पछिल्लो एक सातायता कञ्चनपुरमा कोरोना सङ्क्रमण बढेको छ । जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरका अनुसार बुधबार मात्रै कञ्चनपुरमा १२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हाे ।
सङ्क्रमित हुनेमा अधिकांश भारतबाट नेपाल फर्किनेहरु छन । जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरका कोभिड फोकल पर्सन शिद्धराज भट्टले भारतबाट आउनेमा सङ्क्रमण देखिएको बताउनुभयो ।
यहाँको बेलौरी नगरपालिकामा सबैभन्दा बढी सङ्क्रमित देखिएका छन । जिल्लामा जम्मा सक्रिय सङ्क्रमित २६ जनामध्ये २४ जना बेलौरीकै छन् । बैलौरी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख जयसिंह बोहराले सङ्क्रमित हुने अधिकांश भारतबाट आएका रहेको बताउनुभयो ।
“बुधबार शङ्कास्पद १६ जनाको परीक्षण गर्दा नौ जनामा सङ्क्रमण देखिएको छ ।” उहाँले भन्नुभयो–“अहिले शङ्कास्पद बिरामीको मात्रै परीक्षण गर्ने गरेका छौँ ।”
गड्डाचौकी हेल्थ डेस्क प्रमुख प्रिति बोहराले भारतबाट आउनेमा कोरोना सङ्क्रमण देखिएको बताउनुभयो । बुधबार नाकामा एक सय ४९ जनाको कोरोना परीक्षण गर्दा तीन जनामा सङ्क्रमण देखिएको हो । अहिले कञ्चनपुरमा सक्रिय सङ्क्रमितको सङ्ख्या २६ रहेको छ ।