गुह्येश्वरीमा पैदल यात्रुका लागि पुल निर्माण सुरु
काठमाडौँ, मङ्सिर ४ । काठमाडौँ महानगरपालिका ८ स्थित गुह्येश्वरी मन्दिर क्षेत्रमा पैदल यात्रुको आवागमन सहज बनाउन नयाँ पुल निर्माण सुरु गरिएको छ । पुल निर्माण कार्यको काठमाडौँ महानगरपालिका ८ का वडाध्यक्ष एवं महानगरपालिकाको सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान संगतले शिलान्यास गर्नुभयो ।
गुह्येश्वरी मन्दिरको सामुन्ने रहेको पुरानो पुल जीर्ण बन्दै गएपछि नयाँ पुल निर्माण गर्न लागिएको वडाध्यक्ष संगतले बताउनुभयो । पुल निर्माण भएपछि गुह्येश्वरी क्षेत्रमा हुने धार्मिक तथा सांस्कृतिक गतिविधिमा सहभागी हुने श्रद्धालुलाई नदी वारपार गर्न सहज हुने उहाँको भनाइ छ ।
उहाँले पुल निर्माणले स्थानीय पञ्चकन्या टोलका बासिन्दाको आवागमन सहज बनाउनुका साथै धार्मिक अवसरमा गुह्येश्वरी क्षेत्रमा हुने श्रद्धालुको चाप व्यवस्थापनमा समेत सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
निर्माण हुन लागेको पुल ३० मिटर लामो र २.२५ मिटर चौडा हुनेछ । त्यसमध्ये १.८ मिटर चौडाइ पैदल यात्रुका लागि छुट्याइनेछ । इन्जिनियर शंकर विकका अनुसार पुल ३.९ मिटर उचाइको अबुटमेन्ट फाउन्डेसनमा निर्माण गरिनेछ ।
पुल निर्माणका लागि एक करोड ९६ लाख रुपैयाँ लागत अनुमान गरिएकोमा सार्वजनिक खरिद प्रक्रियामार्फत एक करोड १४ लाख रुपैयाँमा समुद्री कन्स्ट्रक्सनले निर्माणको जिम्मेवारी पाएको छ ।
निर्माणका लागि गत असोज १५ गते सम्झौता भएको हो । सम्झौताअनुसार पुल निर्माण कार्य २०८४ असार मसान्तसम्म सम्पन्न गर्नुपर्नेछ ।
