हुम्लाको उत्तरी नाम्खामा पुल निर्माणमा ढिलासुस्ती
हुम्ला, १५ वैशाख । हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाका विभिन्न खोलामा २०७४ सालमा निर्माण सम्झौता भएका चार वटा पक्की पुल हालसम्म अधुरै बनेका छन् ।
ठेकेदारको लापरवाहीले गर्दा २०७४ मा निर्माण सम्झौता भएकाे पक्की पुल समयमै निर्माण सम्पन्न हुन नसकेकाे हाे ।
पाँच वर्ष बितिसक्दा पनि हेप्का, तागु, सल्ली र याङगार खोलाका पुल अधुरै छन् । यी स्थानमा पुरानै काठको पुल निर्माण गरेर जोखिम मोल्दै सवारीसाधन चल्दै आएका छन् । पुल नबन्दा नाम्खालगायत छिमेकी गाउँपालिकाका बासिन्दाले वर्षायाममा जोखिमपूर्ण यात्रा गर्नुपरेको छ ।
ठेकेदारको चरम लापरवाहीले निर्माण सम्झौताको म्याद सकिँदासम्म काम पूरा हुन नसकेको भन्दै स्थानीयले विरोध गरेका छन् । चार पुल दुई वर्षमा निर्माण सम्पन्न गर्ने सम्झौता भएको थियो । निर्माणमा संलग्न ठेकेदारले बेला–बेलामा म्याद थप गर्दै रकम भुक्तानी भने लिने गरेका छन् ।
नाम्खा–१ स्थित हेप्काखोलामा पक्की पुल रु १० करोडको लागतमा निर्माण हुन लागेको छ वर्ष पुगेको छ भने उक्त पुल बनाउने जिम्मा एमएस जेबी धुलिखेल, काठमाडौँले पाएको थियो । विसं २०७४ साउनमा दुई वर्षभित्रै सक्ने सम्झौता भएको हेप्काखोला पुल छ वर्षसम्म अधुरै छ ।
यस्तै नाम्खा–४ मा पर्ने सल्लीखोलाको पुल निर्माणको जिम्मा स्वच्छन्द काग्री जेबीले रु नौ करोड ३३ लाखमा लिएको थियो । उत्तः पुल पनि अधुरै छ । सोही वडामा पर्ने याङगार खोलामा पुल निर्माणको ठेक्का पाएको धुलिखेल निशान जेबीले रु चार करोड १६ लाखमा जिम्मा लिएको भए पनि काम अधुरै छ ।
यस्तै नाम्खा गाउँपालिका–६ लिमीमा पर्ने टाक्ची र लिङखोलाको मोटरेबल पुल निर्माणको जिम्मा अर्जुन महताराले रु एक करोड ३५ लाखमा लिएका थिए । महताराले पनि काम अधुरो बनाउँदै आएका छन् ।
कम्पनीले हिमपात, बाटो अवरुद्धलगायतका समस्या देखाएर काम ढिलाइ गरेका छन् । पुल निर्माणका लागि आवश्यक पर्ने डन्डी, सिमन्टलगायतका सामग्री ल्याउन समस्या भएकाले निर्माणमा ढिलाइ भएको हिल्सा–सिमकोट सडक योजना कार्यालयका इञ्जीनियर निरज राजवंशीले बताउनुभयो । सबै पुल निर्माणका लागि यही असारसम्मको म्याद रहेको छ ।
ठेकेदार कम्पनीले समयमा काम नगर्दा गाउँपालिकाका खोलामा काठेपुल निर्माण गरिएको छ । हेप्काखोलामा पूर्वाधार विकास कार्यालयले रु २३ लाख खर्चेर चारपाङ्ग्रे सवारीसाधन गुड्ने काठेपुल निर्माण गरेको छ । सल्लीखोला र याङ्गारखोलामा पनि काठेपुलकै सहायतामा गाडी गुड्ने गरेका छन् । ताग्रुखोलामा भने काठेपुलसमेत नहुँदा खोलाबाटै ओहोरदोहोर गर्नुपर्ने बाध्यता छ ।