एसिसी प्रिमियर लिग : वर्षाले नेपाल र यूएईको खेल प्रभावित

काठमाडाैं, १८ वैशाख । एसिसी प्रिमियर कप लिगको आज भइरहेको नेपाल र युएईबीचको फाइनल खेल वर्षाका कारण प्रभावित बनेको छ ।

कीर्तिपुरस्थित क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको युएईले २७ दशमलव ३ ओभरमा ९ विकेट गुमाएर १०६ रन बनाउँदा खेल रोकिएको हो ।

खेल रोकिनुअघि युएईका लागि आसिफ खानले ४६ रन बनाए भने आयन लाक्राले १३ रन जोडे ।

त्यस्तै मुहम्मद वासिमले ११ रन बनाउँदा बसिर हमिदले १० बनाए । नेपालका ललित राजबंशीले तीन विकेट लिए ।

साथै करण केसी र सन्दीप लामिछानेले दुई/दुई विकेट लिए भने गुल्शन झा र सोमपाल कामीले एक/एक विकेट लिए ।