अन्तर्राष्ट्रिय परिवार नियोजन महासङ्घका महानिर्देशक डा. बरमेजो नेपालमा

काठमाडाैं, १८ वैशाख । अन्तर्राष्ट्रिय परिवार नियोजन महासङ्घका महानिर्देशक डा. अल्भेरो बरमेजो नेपाल पाँचदिने भ्रमणका लागि आइतबार साँझ नेपालआइपुग्नुभएकाे छ ।

आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले परिवार नियोजन तथा मातृ स्वास्थ्य र यौन तथा प्रजनन स्वास्थ्य सेवाका क्षेत्रमा नेपाल परिवार नियोजन सङ्घले पुर्‍याएको योगदानको उच्च प्रशंसा गर्नुभएको छ ।“यस्तो सेवा विपन्न समुदायसम्म पुर्‍याउनुपर्छ । महासङ्घले नेपाललाई प्रदान गर्दै आइरहेको आर्थिक एवं प्राविधिक सहयोग निरन्तर जारी रहनेछ ।”

महानिर्देशक डा बरमेजोले यौन तथा प्रजनन स्वास्थ्यमा लगानी बढाउन नेपाल सरकारसँग आग्रह गर्दै बृहत्तर यौनिकता शिक्षालाई समुदायस्तरमा पुर्‍याउन सुझाव दिनुभयो । मूलतःगरिब, सिमान्तकृत, सामाजिकरूपले बहिष्कृत, अल्पसङ्ख्यक र सेवाको पहुँचबाट पछाडि पारिएका वर्ग र व्यक्तिमा परिवार नियोजन तथा यौन तथा प्रजनन स्वास्थ्य सेवाको पहुँच बढाउन महासङ्घले विश्वभर आफ्ना सदस्य-सङ्घमार्फत महासङ्घले लगानी गर्दै आएको उहाँले जानकारी दिनुभयो ।

उहाँले आजै सङ्घद्वारा सञ्चालित ‘हर्मोनल तथा लेजर थेरापी’ क्लिनिकको निरीक्षणसमेत गर्नुभएको थियो । कार्यक्रममा सङ्घका अध्यक्ष हिमालय लाल कसजु र व्यवस्थापक डा नरेशप्रताप केसीले सङ्घका गतिविधिबारे जानकारी दिनुभएको थियो ।

हाल सङ्घले विभिन्न ३४ जिल्ला तथा तीन सय ५० पालिकामा यौन तथा प्रजनन स्वास्थ्य, परिवार योजना र महिला स्वास्थ्यसँग सम्बन्धित विभिन्न क्लिनिकल सेवा तथा प्रवद्र्धनात्मक सचेतना प्रदान गरिराखेको छ ।

परिवार योजना सेवामा सङ्घको राष्ट्रिय योगदान तथा सिमान्तकृत तथा जोखिममा रहेका समुदायको पहुँचमा प्रजनन स्वास्थ्य सेवा पुर्‍याउन सङ्घले गरेको योगदान उल्लेखनीय रहेको छ । सङ्घका कूल सेवाग्राहीमध्ये ८८ प्रतिशत सेवाग्राही सिमान्तकृत तथा जोखिम समुदायमा छन् ।

कोरोना महामारीका बीचमा पनि सङ्घले सन् २०२१ मा लगभग ३६ लाख सेवा आफ्ना क्लिनिकमार्फत प्रदान गरेको थियो । महासङ्घ यौन तथा प्रजनन स्वास्थ्य अधिकारका क्षेत्रमा कार्य गर्ने सबैभन्दा ठूलो विश्वव्यापी सञ्जाल भएको संस्था हो ।

महासङ्घमा विश्वका एक सय ४२ देशका परिवार नियोजन सङ्घ आबद्ध छन् । नेपाल परिवार नियोजन सङ्घ पनि उक्त महासङ्घको सदस्य हो । सङ्घले सन् १९६० मा यस महासङ्घको अस्थायी सदस्यता तथा सन् १९६९ मा पूर्णकालीन सदस्यता प्राप्त गरेको थियो ।

नेपाल भ्रमणका क्रममा महानिर्देशक डा बरमेजोले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका उच्चपदस्थ नेतृत्वसँग नेपालमा यौन तथा प्रजनन स्वास्थ्य सेवाका बारेमा परामर्श गर्नुहुने कार्यतालिका छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *