एसिसी मेन्स प्रिमियर कप

यूएईलाई ७ विकेटले हराउँदै एसिया कपमा नेपाल

काठमाडौं, १९ वैशाख । नेपालले ७ विकेटले यूएईलाई हराउँदै एसीसी प्रिमियर कपको उपाधि जितेको छ । यससँगै नेपाल दोस्रोपटकका लागि एसिया कपमा छनोट भएको हो ।

यूईएले लिएको ११८ रनको लक्ष्य नेपालले ३०.३ ओभरमा पुरा गर्याे । नेपालका लागि गुल्शन झाले अविजित ६७ रन बनाए भने भीम सार्की ३६ रनमा नटआउट रहे ।

२२ रनमै तेस्रो विकेट गुमाएर सङ्कटमा परेको नेपालको अवस्थाबाट उकास्दै उनीहरुले जितसम्म पुर्याएका हुन् । गुल्शनले यूएईविरुद्ध दोस्रो अर्धशतक बनाएका छन् ।

बलिङतर्फ युएईका लागि रोहन मुस्ताफाले दुई तथा आयान अफ्जल खानले एक विकेट लिए ।

यसअघि सोमबार टस हारेर पहिला ब्याटिङ गरेको युएईले सबै विकेट गुमाउँदै ११७ रन बनाएको थियो । उसका लागि आसिफ खानले ५४ बलमा सात चौका र एक छक्काको सहयोगमा ४६ रन बनाएका थिए । ओपनर आर्यान लाक्राले २८ बलमा १३ रन बनाए ।

नेपालका लागि ललितनारायण राजवंशीले चार विकेट लिए । त्यस्तै करण केसी र सन्दीप लामिछानेले समान दुई–दुई तथा गुलसन झा र सोमपाल कामीले समान एक–एक विकेट लिए ।

हिजो यूएईले २७ दशमलव ३ ओभरमा नौ विकेटको क्षतिमा १०६ रन बनाउँदा वर्षाका कारण खेल स्थगित भएको थियो । फाइनल खेलका लागि रिजर्भ डे राखिएकाले हिजोको खेलको निरन्तरता आज भएको हो ।

योसँगै नेपालले आगामी सेप्टेम्बरमा पाकिस्तानमा हुने एसिया कपमा स्थान सुरक्षित गरेको छ । एसिया कपमा स्थान बनाएको नेपालले समूह ‘ए’ मा भारत र पाकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ ।