संरक्षणको अभावमा जीर्ण बन्दै सिन्धुपाल्चोकका पार्कहरू
सिन्धुपाल्चोक, १९ वैशाख । सिन्धुपाल्चोकका विभिन्न स्थानमा निर्माण गरिएका पार्क उचित संरक्षण अभावमा जीर्ण भएका छन् ।
विसं २०७७ मा रु ३५ लाख लागतमा निर्माण गरिएको सदरमुकाम चौतारास्थित बाल उद्यान अहिले जीर्ण बनेको हाे । बालबालिकालाई मनोरञ्जन दिने उद्देश्यले बागमती प्रदेश सरकारको २५ लाख र डिभिजन वन कार्यालयको रु १० लाख लागतमा निर्माण भएको यो पार्कको सुरुका दिनमा बालबालिकाको भिड लाग्ने गरे तापनि अहिले भने शून्य नै छ ।
उचित संरक्षण नहुँदा त्यहाँ रहेका चिप्लेटी, पिङ लगायतका संरचना प्रयोग गर्न लायक अवस्थामा नरहेको स्थानीय अमिर श्रेष्ठ बताउनुहुन्छ ।
गत वर्षमा मात्र निर्माण भएको शहीद कञ्चन प्रियदर्शी स्मृति पार्क पनि दिन प्रतिदिन जीर्ण बन्दै गइरहेको सुनिल बुढाथोकी बताउनुहुन्छ । उहाँका अनुसार सशस्त्रद्वन्द्वको क्रममा मारिनुभएका जिल्लाका साहित्यकार तथा पत्रकार कञ्चन प्रियदर्शीको शालिकसहितको यो पार्क बागमती प्रदेश सरकारकै रु १८ लाख लागतमा चौतारा साँगाचोकगढी वडा न ६ पिपलडाँडामा निर्माण भएको हो ।
त्रिपुरासुन्दरी गाउँपालिका पिस्करस्थित निर्माण गरिएको शहीद पार्क उचित संरक्षण हुन नसकेपछि जीर्ण भएको स्थानीय शिक्षक पृथ्वीजङग पाण्डेले जानकारी दिनुभयो । विसं २०४० मा तत्कालीन पञ्चायतविरुद्ध आयोजना गरिएको कार्यक्रममा प्रहरीबाट अन्धाधुन्ध गोली प्रहार गर्दा मृत्यु भएका स्थानीय वीरबहादुर थामी र इले थामीको सम्झना र सम्मानमा पार्क निर्माण गरिएको उहाँको भनाइ छ ।
विसं २०६४ मा बलेफी गाउँपालिका विञ्जेलमा थालिएको शहीद स्मृति पार्क भने १६ वर्ष वितिसक्दा पनि निर्माण सम्पन्न हुनसकेको छैन । पार्कभित्रका अधिकांश संरचना भत्किएका छन् भने पार्क वरिपरिको घेराबार पनि जीर्ण बनिसकेका छन् ।