चिकित्सकको परामर्श शुल्क आजदेखि बढ्यो, ४२० देखि ९४० रूपैयाँसम्म लिन पाइने
काठमाडाैं, १ जेठ । चिकित्सकहरूको परामर्श शुल्क आजदेखि बढाएकाे छ । नेपाल चिकित्सक सङघ र एशोसिएशन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन नेपाल (अफिन) ले आजदेखि लागू हुने गरी चिकित्सकको परामर्श सेवा शुल्क बढाएको हाे ।
सङ्घका महासचिव डा सञ्जीव तिवारीले आजदेखि लागू हुने गरी चिकित्सकहरूको परामर्श शुल्क पहिलेको शुल्कमा १४ प्रतिशत थपगरी बढाइएको जानकारी दिनुभयो ।
सङ्घले चिकित्सको परामर्श शुल्क दुई वर्षपछि बढाएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तर्फबाट शुल्क पुनरावलोकन तथा निर्धारण नहुञ्जेलसम्मका लागि बहिरङ्ग सेवा शुल्क (ओपिडी)मा वैज्ञानिक तथा सरोकारवाला निकायको परामर्शको आधारमा शुल्क तोक्ने सकिने अख्तियारीलाई मुख्य आधार बनाएर नेपाल राष्ट्र बैंकको मुद्रास्फीति तथा शुल्क परामर्श समितिले सिफारिस गरेको आधारमा शुल्क बढाइएको उहाँले बताउनुभयो ।
महासचिव तिवारीले चिकित्सकको नयाँ परामर्श शुल्क रू ४२० देखि रू ९४० सम्म तोकिएको बताउनुभयो । नयाँ शुल्कअनुसार पाँच वर्षसम्म अनुभव भएका एमविविए तथा बिडिएस तहका चिकित्सकको शुल्क रू ४२० र पाँच वर्षभन्दामाथि अनुभव भएकाको रू ५१५ तोकिएको छ ।
त्यस्तै पाँच वर्षसम्म अनुभव भएका डिप्लोमा तहका चिकित्सकको रू ५९० र त्योभन्दा बढी छ भने रू ६७० तथा पाँच वर्षसम्मको अनुभव भएका एमडी, एमएस, एमडिएस तहका चिकित्सकको रू ७५० र पाँच वर्ष बढी अनुभव भएकाकाे रू ८०० शुल्क तोकिएको छ ।
त्यस्तै पाँच वर्षसम्मको अनुभव भएका डिएम/एमसीएच तहका चिकित्सकको रू ८८० तथा पाँच वर्षभन्दामाथि अनुभव भएका एमडी/एमसीएच तहका चिकित्सकको रू ९४० र दस वर्ष भन्दामाथिको अनुभव भएका एमडी/एमएस/एमडिएसका चिकित्सकको रू ९४० शुल्क निर्धारण गरिएको छ ।