सरकारको नीति तथा कार्यक्रमप्रति ओलीको टिप्पणीः नीति तथा कार्यक्रम नीति शून्य नीति जस्तो भयो

काठमाडौं, ७ जेठ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारले ल्याएको नीति तथा कार्यक्रमलाई नीति शून्य नीतिको संज्ञा दिनुभएको छ । आज संसदमा नीति तथा कार्यक्रमबारे आफ्नो सम्वोधन गर्दै उहाँले यस्तो आरोप लगाउनु भएको हो ।
‘कुन जग, कुन गन्तव्यका लागि यो बजेट आएको छ भनेर पहिल्याउन मैले खोजि गरेँ । कार्यक्रमको ढाँचा कस्तो रहेछ भने र अध्ययन गरेँ,’ उहाँले भन्नुभयो, ‘यो सरकार नै पहिलो स्वयम्भू हो र यसले नै पहिलो नीति तथा कार्यक्रम हो भने झैँ गरेको छ । पहिलो पटक प्रस्तुत गरे जस्तो झलक दिने प्रयास गरिएको छ ।’
उहाँले नीति तथा कार्यक्रममा गुण–दोषको सिलसिला नरहेको दाबी गनुृभयो । ‘देश असामन्य अवस्थाबाट गुज्रिरहेको छ । जनतामा असन्तुष्टि व्याप्त छ । सरकारप्रति जनताको विश्वास घटेको छ । अर्थतन्त्र संकटतर्फ उन्मुख अवस्थामा छ,’ उहाँले भन्नुभयो, ‘मुल्यवृद्धि दोहोरो अंकमा पुगेको छ । समग्रमा भन्ने हो भने नीति तथा कार्यक्रम रोम जलिरहेको छ, नीरो बाँसुरी बजाइरहेको छ जस्तो अवस्थामा छ ।’
उहाँले सरकार वेखवर बनेको हो कि आफूले बुझे पनि जनतालाई अलमल्याउन खोजेको हो ? भनी प्रश्न गर्नुभयो । ‘नीति तथा कार्यक्रममा उदेश्य छैन । सर्वत्र नीति शून्य नीतिको अवस्थामा छ,’ उहाँले भन्नुभयो, ‘यस्तो नीति तथा कार्यक्रमले जनतालाई सम्वोधन गर्न सक्दैन ।’