पर्वतमा चार महिनामै बन्यो बेलिब्रिज
पर्वत, ८ जेठ । पर्वतको जलजला गाउँपालिकालाई छिमेकी जिल्ला म्याग्दीको सदरमुकाम बेनीबजारसँग जोड्ने गरी कालीगण्डकी नदीमाथि निर्माण गरिएको बेलिब्रिज चार महिनामै सम्पन्न भएको छ ।
जलजला गाउँपालिका–२ र ३ मा पर्ने बगरफाँटलाई बेनीबजारसँग जोड्न बनाइएकाे उक्त पुल चार महिनामै निर्माण सम्पन्न गरिएको हो ।
कालीगण्डकी नदीले सडक कटान गरेपछि बगरफाँट बस्ती विगत दुई वर्षदेखि सडक सुविधाबाट वञ्चित हुँदै आएको थियो । गत फागुन अन्तिम सातादेखि निर्माण सुरु भएकामा कालीगण्डकीमाथि ५४ मिटर लामो हुने बेलिब्रिजको जडान वैशाख ५ गतेदेखि सुरु गरिएको थियो ।
दुई वर्षदेखि सडक सुविधाबाट वञ्चित भएका बगरफाँटरवासी आइतबार पुल जडान कार्य सम्पन्न भएसँगै उत्साहित भएका छन् । बेनी–जोमसोम–कोरला सडक आयोजनाले हिमालयन विल्डर्स कम्पनी बेनीसँग पाँच महिनाभित्र योजना सम्पन्न गर्ने गरी रू एक करोड ६० लाखमा ठेक्का सम्झौता गरेको थियो ।
निर्धारित समयभन्दा एक महिना अगावै पुल निर्माण सम्पन्न भएको निर्माण कम्पनीका सब ओभरसियर सनम शाहीले जानकारी दिनुभयो ।
सडक सञ्जालबाट विच्छेद हुँदा बगरफाँटका करिब तीन सय घरधुरीले दैनिक उपभोग्य वस्तु भरियालाई रकम तिरर झोलुङ्गे पुलबाट ल्याउँनु पर्दा सामानको मूल्य महँगो पर्ने गरेको स्थानीयको भनाइ थियो ।
बेलिबिज्र निर्माण सम्पन्न भएसँगै सिधा सडक सञ्जालको पहुँच पुगेको बगरफाँटका विज्ञान शर्माले बताउनुभयो । “बगरफाँटबाट म्याग्दी आवतजावत गर्ने कालीपुल जोड्ने झोलुङ्गे पुलको लठ्ठा खिया लागेर छिन्ने अवस्थामा पुगेको थियो”, उहाँले भन्नुभयो । बेलिब्रिज बनेपछि विद्यार्थी, शिक्षक, कर्मचारीलगायत सर्वसाधारण म्याग्दी बेनी आवतजावत गर्नसहज भएको उहाँले बताउनुभयो ।
बेलिब्रिज निर्माणपछि बगरफाँट हुँदै जलजलाको वडा नं १ बाँसखर्क, वडा नं ५ लेखफाँट, वडा नं ६ शालिजा र वडा नं २ को माँझफाँटमा सिधा यातायात सेवा सञ्चालन हुने भएको छ ।