पश्चिमी वायुको प्रभाव : पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ, २९ कात्तिक । पश्चिमी वायुको आंशिक प्रभावका कारण आज देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार विशेषगरी कर्णाली, सुदूरपश्चिम र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन, चट्याङ र असिनासहित मध्यम वर्षा तथा हिमपात हुन सक्नेछ ।

महाशाखाका अनुसार आज दिउँसो हिमाली भूभाग तथा कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा साधारणतया बादल लाग्नेछ । अन्य पहाडी तथा तराई क्षेत्रमा भने आंशिक बदली रहनेछ ।

कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका केही स्थानमा मध्यम वर्षा र हिमपातको सम्भावना छ । त्यस्तै, गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका केही स्थानमा पनि मेघगर्जन, चट्याङ र असिनासहित वर्षा तथा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ ।

कोशी, बागमती र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।

आज राति देशका हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ भने कोशी प्रदेशसहित अन्य पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ । तराई, उपत्यका तथा खोँचका केही स्थानमा बिहानपख हुस्सु तथा कुहिरो लाग्न सक्ने पूर्वानुमान छ ।

रातिको समयमा हिमाली भूभाग तथा कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी क्षेत्रका एकदुई स्थानमा हल्का वर्षा र हिमपात हुन सक्ने महाशाखाले जनाएको छ ।

सम्भावित वर्षा, हिमपात, चट्याङ र असिनाको जोखिमलाई ध्यानमा राख्दै महाशाखाले सर्वसाधारण तथा सम्बन्धित निकायलाई पछिल्लो मौसमी सूचना र पूर्वानुमानबारे नियमित जानकारी लिन आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *