दुवै खुट्टा गुमाएका सगरमाथा आरोही बुढालाई विमानस्थलमा स्वागत

काठमाडाैं, ९ जेठ । दुवै खुट्टा गुमाएका सगरमाथा आरोही हरिबहादुर बुढालाई आज त्रिभुवन विमानस्थलमा स्वागत गरिएको छ ।
लुक्लाबाट काठमाडौंआइपुग्नुभएका आरोही बुढालाई सस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराती, पर्यटन व्यवसायीका साथै मगर समूदायले झाँकीसहित स्वागत गर्नुभएको हो ।
भूतपूर्व गोर्खा सैनिक समेत रहनुभएका बुढा यही जेठ ५ गते दिउँसो सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा पुग्नुभएको थियो । योसँगै उहाँले घुँडामाथिसम्म खुट्टा गुमाएर सगरमाथा आरोहण गर्ने पहिलो आरोही समेत किर्तिमानी राख्नुभएकाे छ ।
उहाँले कृत्रिम खुट्टाको सहायतामा सगरमाथाको सफल आरोहण गर्नुभएको हो । पर्यटन मन्त्री किरातीले स्वागत गर्दै आरोही हरिबहादुर बुढाले आफ्नो जीवनमा अदम्य साहस पटक–पटक देखाउनुभएको भन्दै हार्दिक बधाइ दिनुभयो ।
“हरिबहादुर बुढाले सर्वोच्च शिखर सगरमाथाको चुचुरोबाट नयाँ सन्देश दिनुभएकोछ”, मन्त्री किरातीले भन्नुभयो, “उहाँले विश्व समूदायलाई अथक मेहनत र इच्छाशक्ति भए असम्भव केही छैन भन्ने सन्देश दिनुभएको छ ।”
सो अवसरमा आरोही बुढाले आफ्नो सफलतामा सहयोग गर्ने टीमलाई विशेष धन्यवाद दिनुभयो । “आफ्नो व्यस्त समयका बाबजुत पनि तपाईंहरु मलाई स्वागत गर्न आउनुभएको छ । यसका लागि म धेरै–धेरै धन्यवाद दिन चाहन्छु”, उहाँले भन्नुभयो, “आफ्नो ज्यानको बाजी राखेर मलाई सगरमाथाको चुचुरोमा पुर्याउने टीम बिना मेरो प्रयास सफल हुने थिएन ।”