एनएससी काभामा बङ्गलादेशलाई हराउँदै कीर्गिस्तान विजयी

काठमाडाैं, १० जेठ । आज भएको एनएससी काभा (सेन्ट्रल एसियन भलिबल एशोसिएशन) महिला भलिबल च्यालेन्ज कपअन्तर्गत खेलमा कीर्गिस्तानले बङ्गलादेशलाई पराजित गरेकाे छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा भएको पहिलो खेलमा कीर्गिस्तानले बङ्गलादेशलाई ३–० को सोझो सेटमा पराजित गर्दै विजयी भएको हो ।

समूह ‘ए’ मा रहेका यी दुवै टोली प्रतियोगिताबाट भने बाहिरिसकेका छन् । यस समूहबाट नेपाल र भारत एक खेल अगावै सेमिफाइनलमा पुगिसकेका छन् ।

आजको खेलमा कीर्गिस्तानले बङ्गलादेशलाई पहिलो सेट २५–१६, दोस्रो सेट २५–११ र तेस्रो तथा अन्तिम सेट २५–२० ले हरायो ।

राष्ट्रिय खेलकुद परिषद्को सहयोग र नेपाल भलिबल सङ्घको आयोजनामा भएको उक्त प्रतियोगितामा विभिन्न आठ टोली सहभागी छन् ।