देशद्रोही तत्वहरुले कोही इमान्दार छैन भन्ने स्थापित गरेर देशप्रति नै वितृष्णा जगाउने प्रयास गरिरहेका छन्ः ओली

काठमाडौं, १२ जेठ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अहिले संसदमा असत्य र जनतालाई भ्रम पार्ने खालका कुराको बढी प्रचार गर्ने प्रयास भैरहेको भन्दै चिन्ता व्यक्त गर्नुभएको छ । एमालेले आफ्ना जनप्रतिनिधिलाई दिएको प्रशिक्षण कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनु भएको हो ।

‘पशुपतिनाथमा सुनको जलहरी चढाउनु पर्नेमा पित्तलको चढाएर भ्रष्टाचार गर्यो भनेर संसद जस्तो गरिमामय ठाउँमा यस्ता बगवास कुरा गरिएको छ,’ उहाँले भन्नुभयो, ‘पुष्टि नै नहुने कुरा दुई अर्व औषधीको पैसा खायो भनेर भनिएको छ । त्यो पुष्टि हुँदैन, हुने संभावना पनि छैन । एमालेले त्यस्तो गर्दैन । अझ त्यसमा पनि म जो जीन्दगी भरी भ्रष्टाचार विरोधी आन्दोलन चलाएको आएको मान्छे हुँ । त्यहि मान्छेका विरुद्ध ?’

उहाँले यस्ता आरोप देशद्रोही तत्वहरुले लगाउने आरोप भएको बताउनुभयो । ‘यो देशमा कोही पनि इमान्दार छैन भन्ने स्थापित गरेर देशप्रतिकै वितृष्णा जगाउने प्रयास भैरहेको छ,’ उहाँले भन्नुभयो ।

ओलीले पशुपतिनाथमा जलहरी राख्न आफू प्रधानमन्त्री भएका बेला पैसा मात्रै दिएको बताउनु भएको छ । ‘मैले त रकम तिरेको हो, त्यहाँ समिति छ, सेना बसेर ती चिज निर्माण गरेको हो । यस्तो गैरजिम्मेवार कुरा गर्ने ? यस्ता–यस्ता मान्छे संसदमा छिरेका छन्,’ उहाँले भन्नुभयो, ं‘प्रजातन्त्रमा जस्तो समाज हुनुपर्ने हो आज त्यस्तो समाज छैन । म भन्न चाहन्छु । यो देशमा नेकपा (एमाले) छ । यो देशलाई नेकपा (एमाले) ले यसलाई साच्चिकै लोकतान्त्रिक, विकशित आधुनिक र संमृद्ध नेपाल निर्माणको आधार तयार गर्छ ।’

उहाँले राणा शासनले खत्तम पार्न नसकेर ढलेको, पञ्चायतले खत्तम पार्न नसकेर ढलेको इतिहासको उल्लेख गर्नुभयो । ‘कम्युनिष्टहरुलाई खत्तम पार्न राजतन्त्रले खोज्यो आफैँ गयो,’ उहाँले भन्नुभयो, ‘कांग्रेसले थिचोमिचो दमन गरेर सिध्याउन खोज्यो, कांग्रेस अब ८४ को चुनावमा हेर्नुहोला ।’