कास्कीमा अन्नपूर्ण सेञ्चुरी पर्यटन महोत्सव सुरू

कास्की, १७ जेठ । कास्कीको घान्द्रुकमा आजदेखि अन्नपूर्ण सेञ्चुरी पर्यटन महोत्सव सुरु भएको छ ।

अन्नपूर्ण सेञ्चुरी पर्यटन समितिको आयोजना तथा नेपाल पर्यटन बोर्डको प्रवद्र्धनमा सुरु भएकाे याे तेस्रो संस्करणको महोत्सव हाे ।

घान्द्रुक पर्यटन व्यवस्थापन समितिको स्थानीय व्यवस्थापनमा सुरु महोत्सव जेठ २० गतेसम्म सञ्चालन हुनेछ । महोत्सवअन्तर्गत अन्तिम दिन जेठ २० गते अन्नपूर्ण प्रथम हिमाल आरोहण दिवस (जुन ३) का अवसरमा अन्नपूर्ण म्याराथन हुनेछ । उक्त दिन अन्नपूर्ण आधार शिविरबाट घान्द्रुकसम्म (४२.१९५ किमी) को म्याराथन आयोजना हुने अन्नपूर्ण सेन्चुरी पर्यटन समितिका संयोजक ललित गुरुङले जानकारी दिनुभयो ।

सन् १९५० जुन ३ तारिखमा फ्रान्सेली नागरिक मौरिस हर्जोगले अन्नपूर्ण हिमालको चुचुरोमा पाइला टेकेको दिनलाई अन्नपूर्ण आरोहण दिवसका रूपमा मनाइँदै आइएको छ । महोत्सवमा गाउँस्तरीय भलिबल प्रतियोगिता, बाँस्केटबल प्रतियोगिता, पत्रकारिता पुरस्कार वितरण, हर्स राइडिङलगायत विविध सांस्कृतिक कार्यक्रम सञ्चालन हुनेछन् ।

म्याराथनतर्फ प्रतियोगितामा पुरुषतर्फ प्रथम हुनेले नगद रु एक लाख ५० हजार, द्वितीय हुनेले रु एक लाख र तृतीय हुनेले रु ७५ हजार प्राप्त गर्ने छन् । महिलातर्फ प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः रु ७५हजार, ५० हजार र २५ हजार प्राप्त गर्नेछन् ।

त्यस्तै गाउँपालिकास्तरीय पुरुष भलिबलमा विजेता टोलीले नगद ८० हजार र उपविजेताले नगद ५० हजार प्राप्त गर्नेछन् भने खुल्ला पुरुष बाँस्केटबलतर्फका विजेताले नगद रु ८० हजार र ५० हजारका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

कोभिड–१९ का कारण दुई संस्करण स्थगित भए पनि यसपटक अन्नपूर्ण म्याराथनलाई निरन्तरता दिइएको हो । अन्नपूर्ण आधार शिविरको पर्यटन पूर्वाधार निर्माण गरी पर्यटन प्रवद्र्धन गर्न विगतमा निरन्तर पर्यटन महोत्सव र अन्नपूर्ण म्याराथन गरिँदै आइएको थियो ।

प्रतिकूल परिस्थितिका कारण कार्यक्रम स्थगित भए पनि यसपटकबाट कार्यक्रमलाई निरन्तरता दिइएको घान्द्रुक पर्यटन व्यवस्थापन समितिका अध्यक्ष विक्रम गुरुङले जानकारी दिनुभयो ।

महोत्सवलाई अन्नपूर्ण गाउँपालिका, नेपाल पर्यटन बोर्ड, छोम्रोङ पर्यटन व्यवस्थापन समिति, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजन (एक्याप)÷राष्ट्रिय प्रकृति संरक्षण कोष, घान्द्रुक पर्यटन व्यवस्थापन समिति, टाँडापानी पर्यटन व्यवस्थापन समिति, खेलकुद मन्त्रालय, अन्नपूर्ण काठमाडौँ समाज नेपाल, गुरु आनन्द फाउन्डेशनलगायतका सङ्घ संस्थाको सहयोग रहेको छ ।