दसैँमा चितवन राष्ट्रिय निकुञ्ज घुम्ने पर्यटक २० हजारभन्दा बढी

काठमाडौँ, कार्तिक १२ । दसैँका अवसरमा २० हजार ८७ जना पर्यटकले चितवन राष्ट्रिय निकुञ्ज भ्रमण गरेका छन् । गत असोज २३ गतेदेखि निकुञ्जभित्र जिप सफारी पुनः सञ्चालनमा आएसँगै दसैँको अवधिमा स्वदेशी तथा विदेशी पर्यटकको आगमन बढेको हो ।

निकुञ्जका सूचना अधिकारी गणेश तिवारीका अनुसार दसैँको अवधिमा ११ हजार ८९१ नेपाली, सात हजार ३६५ विदेशी र सार्क मुलुकका ८३१ पर्यटकले निकुञ्ज भ्रमण गरेका छन् ।

दुर्लभ वन्यजन्तु तथा चराचुरुङ्गी अवलोकनका लागि पर्यटक चितवन राष्ट्रिय निकुञ्ज पुग्ने गरेका छन् । विशेषगरी एकसिङ्गे गैँडा, पाटेबाघ, हात्ती, भालु र घडियाल गोहीलगायत वन्यजन्तु अवलोकन पर्यटकको प्रमुख आकर्षण बन्ने गरेको छ। यसपटक निकुञ्ज सफारीका क्रममा दुर्लभ पाटेबाघसमेत देखिएपछि पर्यटकको आकर्षण थप बढेको छ ।

दसैँको अवधिमा निकुञ्ज भ्रमण गर्ने पर्यटकबाट एक करोड ७३ लाख ४४ हजार ६५० रुपैयाँ राजस्व सङ्कलन भएको सूचना अधिकारी तिवारीले जानकारी दिनुभयो । उहाँका अनुसार नेपाली पर्यटकबाट १७ लाख ८३ हजार ६५० रुपैयाँ, सार्क मुलुकका पर्यटकबाट आठ लाख ३१ हजार रुपैयाँ र तेस्रो मुलुकका पर्यटकबाट एक करोड ४७ लाख ३० हजार रुपैयाँ राजस्व सङ्कलन भएको हो ।

वर्षायाममा निकुञ्जभित्र जिप सफारी बन्द रहने भए पनि मध्यवर्ती क्षेत्र तथा सामुदायिक वनमा जिप र हात्ती सफारी नियमित सञ्चालन हुने गर्छन् । वर्षा सकिएपछि निकुञ्जभित्र जिप सफारी सुरु भएसँगै पर्यटकले निकुञ्ज क्षेत्रमै पुगेर वन्यजन्तु अवलोकन गर्ने अवसर पाएका छन् ।

निकुञ्जभित्र सौराहा क्षेत्रबाट ३२, कसराबाट २२, मेघौलीबाट ११, अमलटारीबाट आठ र माडीबाट एउटा जिप सञ्चालन हुने गरेका छन्। ती जिपमार्फत पर्यटकले निकुञ्जको भ्रमण गरी वन्यजन्तु तथा प्राकृतिक सौन्दर्यको अवलोकन गर्ने गरेका छन् ।

वन्यजन्तु अवलोकन, जिप सफारी र प्राकृतिक वातावरणका कारण चितवन राष्ट्रिय निकुञ्ज आन्तरिक तथा बाह्य पर्यटकको प्रमुख गन्तव्यका रूपमा रहँदै आएको छ । दसैँको अवधिमा भएको पर्यटक आगमनले निकुञ्जको पर्यटन गतिविधि र राजस्व सङ्कलनमा समेत योगदान पुर्‍याएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *