डोटीमा वर्षे रोपाइँ सुरु

डोटी, १७ जेठ । डोटीका विभिन्न स्थानमा वर्षे धान रोपाइँ सुरु भएको छ । सिँचाइ समस्या नभएका खोला तथा ढाप खेतमा धान रोपाइँ सुरु भएको हो ।

खोलीखेका फाँटमा अहिले वर्षे धान रोप्ने चटारो छ । विशेष गरी खोला खेतमा हलगोरुले रोपाइँ गर्न किसान व्यस्त छन् ।

जिल्लामा करिब १० हजार हेक्टर क्षेत्रफलमा वर्षे धान लगाइने कृषि ज्ञानकेन्द्र डोटीको दाबी छ । जिल्लाको बोगटान फुड्सिल, बडीकेदार र जोरायल गाउँपालिकालगायतका ठाउँमा धमाधम रोपाइँ सुरु भएको छ ।

कृषि ज्ञानकेन्द्र डोटीका अनुसार जिल्लामा ३२ हजार दुई सय ७६ हेक्टर क्षेत्रफल जमिन खेतीयोग्यमध्ये करिब २५ हजार पाँच सय हेक्टर क्षेत्रफलमा खेती गर्दै आए पनि १० हजार छ सय ८० हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएको छ । जिल्लाका अधिकांश पाखा खेतमा भने साउनसम्म पनि रोपाइँ हुने गर्दछ ।

जिल्लाका किसानले राघा, सुक्का तिन, हल्दीनाथ, खुमल, पाल्लपाली, कुशुम, राधा ४, झिनुवा, मार्सी बाँकी स्थानीय जातका धान लगाउँदै आएका छन् ।