आफूविरुद्ध अफवाह फैलाउनेविरुद्ध प्रेस काउन्सिल अध्यक्ष कारवाहीका लागि अदालत जाने

काठमाडौं, २४ जेठ प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतविरुद्ध तथ्य र आधारहीन ढंगले आक्षेप लगाई उजुरी परेको देखिएको छ । केही दिन अघि उनीविरुद्ध साइबर ब्यूरोमा साइबर सम्बन्धी उजुरी परेको थियो ।

अध्यक्ष बस्नेतले चलाउने मेसेन्जरबाट अस्वभाविक ढंगले कल, मेसेज गएको भन्दै उजुरी परेको थियो । त्यसमाथि भएको अनुसन्धानले त्यस्तो कुनै तथ्य, प्रमाण नभेटिएको स्रोतले जानकारी दिएको छ । ‘उजुरीमा भनेजस्तो, आक्षेप लगाइएको कुरालाई पुष्टि गर्ने कुनै तथ्य, आधार र प्रमाण भेटिएन,’ स्रोतको भनाई छ ।

आफूले चलाउने फेसबुकमा केही दिन प्राविधिक समस्या भएको, सोही बीचमा भएका कल, मेसेजको बारेमा बस्नेतले प्रहरीको साइबर ब्यूरो र सार्वजनिक रुपमा समेत जानकारी गराउनु भएको थियो । सोही बीचमा रातको समयमा आफ्नो मेसेन्जरमा अपशब्द प्रयोग भएकोले कारवाही माग गर्दै बस्नेत विरुद्ध उजुरी परेको थियो ।

तर, उजुरीकर्ताले उजुरीमा दावी गरे अनुसार शब्द प्रयोग नभएको, उजुरीकर्ताको मेसेन्जरबाटै पहिलो कल गएको अनुसन्धानमा देखिएको प्रहरी स्रोतले जानकारी दियो । त्यस्तै, बस्नेतले चलाउने मेसेन्जर दुरुपयोग गरी उजुरीकर्तासँग कसैले ५ हजार रुपैयाँ मागेको देखिएको तर, सो कुरा उजुरीमा उल्लेख नगरेकाले थप आशंका बडढाको स्रोतको दावी छ ।

यसैबीच, आफूविरुद्ध अनाहकमा सामाजिक सञ्जालमा अफवाह फैलाईएको विषयमा काउन्सिल अध्यक्ष बस्नेतले मंगलबार राजधानीमा उपलब्ध बोर्ड सदस्यहरुसहित बैठक बोलाएर सुझाव लिनुभएको बुझिएको छ । नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेल, बोर्ड सदस्यहरु दिपक पाण्डे, ठाकुरप्रसाद बेल्वासे, शरद अधिकारीसहित भएको आकस्मिक बैठकमा बस्नेतले अहिलेसम्मका सबै घट्नाक्रमबारे सविस्तार सुनाएको एक सदस्यले जानकारी दिनुभयो।

तथ्य पुष्टि नभई व्यक्तिको चरित्रहत्या र मानमर्दन हुने गरी प्रचार प्रसार गर्ने, सामाजिक सञ्जालमा अपशब्द र गालीगलौज गर्नेविरुद्ध कानुनी लडाईँबारे बस्नेतले अवगत गराउनु भएको थियो। जानकारी अनुसार अध्यक्ष बस्नेत आफू विरुद्ध अफवाह फैलाउनेलाई हदैसम्म कारवाही माग गर्दै न्यायका लागि अदालती प्रक्रियामा जुटेको बुझिएको छ । जानकारी अनुसार मंगलबार अबेरसम्म ३३ जना कानुनव्यवसायीले मुद्धामा सहयोगका लागि वकालतनामाको प्रतिवद्धता दिएको बुझिएको छ ।