बन्दीपुरमा ६७ फिट अग्लो राष्ट्रिय झण्डासहितको पर्यटकीय पार्क बन्दै

दमौली, २७ कात्तिक । तनहुँको बन्दीपुरमा ६७ फिट अग्लो राष्ट्रिय झण्डासहितको आकर्षक पर्यटकीय पार्क निर्माण गरिने भएको छ । पृथ्वीराजमार्ग नजिकै बन्दीपुर गाउँपालिका–१ तल्लोटारमा निर्माण गर्न लागिएको पार्कले आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्ने अपेक्षा गरिएको छ । पार्कमा राखिने विशाल राष्ट्रिय झण्डा बिहीबार पहिलोपटक बन्दीपुर बजारमा प्रदर्शन गरिएको छ ।

पार्कमा ६७ फिट अग्लो, ४५ फिट लामो र ३० फिट चौडा राष्ट्रिय झण्डा राखिनेछ । पोखरा र काठमाडौँबीच पृथ्वीराजमार्ग हुँदै आवतजावत गर्ने यात्रुलाई लक्षित गरी नयाँ पर्यटकीय गन्तव्य विकास गर्ने उद्देश्यले पार्क निर्माण गर्न लागिएको निर्माण समितिले जनाएको छ ।

झण्डा पार्क निर्माण समितिका संयोजक शेरबहादुर रानाका अनुसार स्थानीयवासीको श्रमदानबाट निर्माण कार्य अघि बढाइएको छ । हालसम्म १५ लाख रुपैयाँभन्दा बढी बराबरको निर्माण कार्य सम्पन्न भइसकेको उहाँले जानकारी दिनुभयो ।

विशाल राष्ट्रिय झण्डा प्रदर्शन गर्नुको उद्देश्य पार्क निर्माणको योजना र यसको विशेषताबारे सर्वसाधारणलाई जानकारी गराउँदै प्रचारप्रसार गर्नु रहेको समितिले जनाएको छ । झण्डा सार्वजनिक भएपछि स्थानीयवासी तथा बन्दीपुर घुम्न आउने पर्यटकमा पार्कप्रति चासो बढ्ने अपेक्षा गरिएको छ ।

पार्क निर्माणका लागि स्थानीयवासीले श्रमदानसँगै आर्थिक सहयोग जुटाउने अभियान पनि सञ्चालन गरेका छन् । यसैक्रममा आर्थिक स्रोत सङ्कलन गर्ने उद्देश्यले बन्दीपुर बजारमा देउसीभैलो कार्यक्रम आयोजना गरिएको छ ।

तिहारको सांस्कृतिक परम्परालाई विकास निर्माणसँग जोड्दै देउसीभैलोबाट सङ्कलित रकम पार्क निर्माणमा खर्च गरिने स्थानीय अगुवा बासु पन्तले बताउनुभयो । स्थानीयवासीको सामूहिक प्रयासबाट पार्कलाई पूर्णता दिने र बन्दीपुरमा नयाँ पर्यटकीय आकर्षण थप्ने लक्ष्य रहेको उहाँको भनाइ छ ।

प्राकृतिक सुन्दरता, मौलिक संस्कृति र पुराना बस्तीका कारण बन्दीपुर पहिलेदेखि नै लोकप्रिय पर्यटकीय गन्तव्यका रूपमा परिचित छ । पृथ्वीराजमार्ग नजिकै विशाल राष्ट्रिय झण्डासहितको पार्क निर्माण भएपछि पोखरा र काठमाडौँ आवतजावत गर्ने यात्रुलाई समेत केही समय रोकिएर अवलोकन गर्न तथा तस्बिर खिच्न आकर्षित गर्न सकिने स्थानीयको विश्वास छ । यसले बन्दीपुरको पर्यटकीय पहिचान र गतिविधि थप विस्तार गर्ने अपेक्षा गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *