छठ पर्वको दोस्रो दिनः आज ‘खरना’
महोत्तरी, २८ कात्तिक । मधेसको प्राचीन मिथिला क्षेत्रमा चारदिने छठ पर्वको उल्लास छाएको छ । छठ पर्वको दोस्रो दिन आज बर्तालुले श्रद्धा र निष्ठापूर्वक ‘खरना’ विधि सम्पन्न गर्दैछन् ।
छठ पर्वको पहिलो दिन कात्तिक शुक्ल चतुर्थीका दिन शुक्रबार बर्तालुले ‘नहाय–खाय’ विधि पूरा गर्दै व्रतको सङ्कल्प गरेका थिए । त्यससँगै सुरु भएको छठको दोस्रो दिन आज पञ्चमी तिथिमा ‘खरना’ गरिँदैछ ।
‘खरना’का दिन बर्तालु बिहान पवित्र स्नान गरी दिनभरि निराहार उपवास बस्ने गर्छन् । साँझ सूर्यास्तपछि चन्द्रमाको दर्शन गरेर नयाँ माटोको चुलो र माटाकै भाँडामा पकाइएको खीर छठी मातालाई चढाउने तथा प्रसादका रूपमा ग्रहण गर्ने परम्परा छ ।
खरनाका लागि सख्खर, दूध र स्थानीय जातको धानको चामल प्रयोग गरी खीर पकाउने गरिन्छ । तयार पारिएको खीर केराको पातमा राखेर कुलदेवता तथा छठी देवीलाई अर्पण गरेपछि बर्तालुले प्रसाद ग्रहण गर्छन् । परिवारका अन्य सदस्यले समेत प्रसादका रूपमा खीर खाने चलन छ । मिथिला क्षेत्रमा यही विधिलाई ‘खरना’ भनिन्छ ।
छठ पर्वलाई मिथिलामा लोकआस्थाको महापर्वका रूपमा लिइन्छ । श्रद्धा, निष्ठा, समर्पण र आत्मशुद्धिलाई पर्वका प्रमुख पक्ष मानिन्छ । बर्तालुहरू कठोर नियम पालना गर्दै शुद्धता र पवित्रतालाई विशेष महत्त्व दिने गर्छन् ।
खरना सम्पन्न भएपछि छठ पर्वको मुख्य दिन सुरु हुन्छ । पर्वको तेस्रो दिन बर्तालुले निराहार व्रत बसेर साँझ जलाशय तथा नदी, पोखरीलगायतका जलकिनारमा बनाइएका घाटमा पुग्नेछन् । त्यहाँ कम्मरसम्म पानीमा उभिएर अस्ताउँदो सूर्यलाई पहिलो अर्घ्य अर्पण गर्ने परम्परा छ । मिथिलामा अस्ताउँदो सूर्यलाई दिइने उक्त अर्घ्यलाई ‘सझुका अरख’ वा ‘सझियाघाट’ भन्ने गरिन्छ ।
अर्घ्यका क्रममा बर्तालुले विभिन्न पूजाका सामग्रीसहित सूर्यदेवको उपासना गर्ने गर्छन् । जटासहितको नरिवल, ठकुवा, भुसुवा तथा अन्य मिष्टान्न परिकार र केरासहितका फलफूल अर्घ्यमा प्रयोग गरिन्छ । छठका लागि तयार गरिएका प्रसाद तथा परिकारमा विशेष शुद्धता अपनाइन्छ ।
पर्वको अन्तिम दिन अर्थात् सप्तमी तिथिका दिन बिहान उदाउँदो सूर्यलाई दोस्रो अर्घ्य दिएपछि छठ पर्व सम्पन्न हुन्छ । उदाउँदो सूर्यलाई दिइने अर्घ्यलाई मिथिलामा ‘भोरका अरख’ वा ‘पारन’ भनिन्छ । बिहानको अर्घ्यपछि बर्तालुले प्रसाद ग्रहण गरेर व्रत समापन गर्ने परम्परा छ ।
छठका अवसरमा घरमै बनाइने ठकुवा, भुसुवालगायतका मिष्टान्न परिकारको विशेष महत्त्व छ । यी परिकार इष्टमित्र तथा आफन्तलाई घरमै बोलाएर खुवाउने र नातेदार तथा छिमेकीको घरमा समेत पुर्याउने चलन छ । छठका लागि आवश्यक परिकार परम्परागत रूपमा ढिकी–जाँतोमा कुटिएको तथा पिसिएको पिठोबाट तयार गरिन्छ ।
छठ पर्वका लागि नदी, पोखरी तथा अन्य पवित्र जलाशयको किनारमा आकर्षक घाट निर्माण गरिन्छ । घाटलाई सजाउने, सरसफाइ गर्ने तथा पूजाका सामग्री व्यवस्थित गर्ने काममा स्थानीय बासिन्दा सामूहिक रूपमा जुट्ने गर्छन् । पर्वको मुख्य दिन अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ्य दिन श्रद्धालुको ठूलो भीड जलाशयका घाटमा पुग्ने गर्छ ।
पछिल्ला वर्षमा छठ पर्व मधेसी समुदायमा मात्र सीमित नरही अन्य समुदायमा समेत विस्तार हुँदै गएको छ । केही वर्षअघिसम्म मुख्यतः मधेसी हिन्दू समुदायले मनाउँदै आएको यो पर्व अहिले पहाडी तथा अन्य समुदायका हिन्दूले पनि उत्साहपूर्वक मनाउन थालेका छन् ।
मिथिला क्षेत्रमा मुस्लिम समुदायका व्यक्तिले समेत छठ पर्वमा सहयोग गर्ने तथा बर्तालुलाई अर्घ्यका बेला आफ्ना भाकलका सामग्री सूर्यदेवलाई देखाइदिन आग्रह गर्ने परम्परा विकसित हुँदै गएको स्थानीय बताउँछन् । यसले छठ पर्वलाई धार्मिक आस्थासँगै सामाजिक सद्भाव र सहअस्तित्वको पर्वका रूपमा समेत स्थापित गर्न योगदान पुर्याएको छ ।
महोत्तरीका स्थानीयका अनुसार छठ पर्वमा धर्म, संस्कृति र जातीय समुदायको सहभागिता बढ्दै गएको छ । सबै समुदायको साझा सहभागिताका कारण छठ मिथिला लोकसंस्कृतिको अभिन्न अङ्ग बन्दै गएको भङ्गाहा–५ सीतापुरस्थित माध्यमिक विद्यालयका प्रधानाध्यापक मनोहरप्रसाद यादव बताउनुहुन्छ ।
श्रद्धा, शुद्धता, सामूहिक सहभागिता र सामाजिक सद्भावलाई विशेष महत्त्व दिने भएकाले छठ पर्व मिथिला क्षेत्रमा धार्मिक पर्वसँगै सामाजिक एकता र लोकसंस्कृतिको पहिचानका रूपमा स्थापित हुँदै गएको छ ।
