खडेरीले मकै खेतमै सुकेपछि चितवनका किसान चिन्तित
चितवन, २८ जेठ । खडेरीले मकै खेतमै सुकेपछि चितवनका किसान चिन्तित बनेका छन् । मकैको घोगा लाग्ने र पाक्ने बेलामा बढ्दो तापक्रम र खडेरीले मकैका बोट सुक्न थालेपछि किसान चिन्तित बनेका हुन् ।
सुकेको मकैका बोट काटेर किसानले गाई, भैँसीलाई घाँसको रूपमा दिन थालेका छन् । भरतपुर महानगरपालिका–८ गौरीगन्जका नवीन पुरीले १३ कठ्ठा जग्गाको मकै पूरै सुकेको बताउनुभयो । उहाँले भन्नुभयो, “घोगा लाग्ने बेलामा मकैका बोट सुक्यो । मकैमा गरिएको मल, बीउ र खनजोतको लगानी खेर गयो ।”
भरतपुर महानगरपालिका–११ बसेनीकी जलपादेवी घिमिरेले सात कठ्ठा जग्गामा मकै लगाउनुभएको थियो । सबै मकै सुक्न थालेपछि उहाँले घाँसको रूपमा मकैका बोट काटेर गाईलाई दिन थाल्नुभएको छ ।
७८ वर्षीय जलपादेवी मकै डढ्न थालेपछि चिन्तित बन्नुभएको छ । सोही ठाउँकी तारादेवी भण्डारीको पनि चार कठ्ठाको मकै सुकेको छ । पाइप लगाएर अलिअलि पानी हाल्दाहाल्दै पनि चर्को घामले मकै सुकेको उहाँले बताउनुभयो ।
कृषि ज्ञान केन्द्र चितवनका सूचना अधिकारी मीनबहादुर पुनले प्राकृतिक कारणले यस वर्ष मकै सुकेको भन्दै केही रोकथाम गर्ने उपाय नै नभएको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “सिँचाइको सुविधा भएको ठाउँबाहेक अन्य ठाउँको मकै जोगाउन कठिन छ ।”
उहाँले सरकारी अनुदानमा बोरिङको सुविधा भएको ठाउँको मकै मात्र केही जोगिन सक्ने भए पनि अन्यत्रको मकै पूरै सुकेको बताउनुभयो । उहाँले मकै मात्र होइन खडेरीका कारण तरकारी खेतीमा समेत प्रभाव परेको छ । चितवनमा २६ हजार हेक्टर बढी क्षेत्रफलमा मकैखेती गरिने जनाइएको छ ।
चितवनमा प्रायः तीन सिजन मकैको खेती हुन्छ । माघ फागुनमा लगाइने ‘बसन्ते’ मकै चितवनमा १४ हजार छ सय हेक्टरमा खेती हुने गर्छ ।