डिडिसीको आर्थिक अनियमितता प्रकरणमा विराटनगर आयोजना प्रमुख शर्मा पक्राउ

काठमाडौँ, २७ कात्तिक । दुग्ध विकास संस्थान (डिडिसी) मा भएको आर्थिक अनियमितता तथा सङ्गठित अपराध प्रकरणमा प्रहरीले विराटनगर दुग्ध वितरण आयोजनाका प्रमुख नवीनकिशोर शर्मालाई पक्राउ गरेको छ ।

केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले सर्लाहीका ४५ वर्षीय शर्मालाई पक्राउ गरी सार्वजनिक गरेको हो । उनीमाथि संस्थानलाई आर्थिक क्षति पुर्‍याई गैरकानुनी लाभ लिएको आरोप छ ।

सिआइबीका अनुसार संस्थानका तत्कालीन महाप्रबन्धक, उच्च अधिकारी तथा कर्मचारीको मिलेमतोमा सङ्गठित सञ्जाल बनाएर आर्थिक अनियमितता गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

उक्त प्रकरणमा संस्थानलाई १२ करोड १३ लाख ४३ हजार ५३० रुपैयाँ बराबरको आर्थिक क्षति पुर्‍याइएको र सोही रकम गैरकानुनी रूपमा लाभ लिइएको प्रारम्भिक अनुसन्धानले देखाएको ब्युरोका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक अनुपमशम्शेर जबराले जानकारी दिनुभयो ।

शर्माविरुद्ध आपराधिक विश्वासघात तथा सङ्गठित अपराधसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ । यसअघि प्रहरीले उक्त प्रकरणमा आठ जनालाई पक्राउ गरिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *