फेरिँदै गएकाे चेपाङ समुदायको जीवनशैली

चितवन, २८ जेठ । चितवनको इच्छाकामना–१ राजभोगका चेपाङ समुदायको जीवनशैली फेरिदैं गएकाे छ ।

गाउँपालिकासँगको सहकार्यमा ‘सबै यात्राको सुरुआत एक सपनाबाट हुन्छ’ नामक परियोजना सञ्चालन गरेपछि चेपाङ समुदायको जीवनशैलीमा परिवर्तन आएको हो ।

सामाजिक कार्यमा क्रियाशील चितवनको सौराहा स्थित सपना भिलेज सोसियल इम्प्याक्ट र इच्छाकामना गाउँपालिकाले ‘सबै यात्राको सुरुआत एक सपनाबाट हुन्छ’ नामक परियोजना सञ्चालन गरेकाे छ ।

राजभोग क्षेत्रका चेपाङ समुदायकाे चिटिक्क परेको सानो सफा घर, शौचालय, करेसाबारी छ । यहाँका चेपाङ समुदाय तरकारी खेती र पशुपालन गर्छन् । आर्थिक अवस्थामा सुधार आएको छ । बालबालिका नियमित विद्यालय जान्छन् ।

सपना भिलेज सोसियल इम्प्याक्टका अध्यक्ष ध्रुव गिरीका अनुसार परियोजनाले घर, विद्यालय, स्वास्थ्यकर्मी, कृषक र आमा समूहबीच प्रतिस्पर्धा गराएर छ–छ महिनामा पुरस्कार वितरण गर्दै आएको छ । आफ्नै घर सफा गर्दा, आफ्नैका लागि आयआर्जनका काम गर्दा पुरस्कृत हुने भएपछि चेपाङ समुदायको जीवनशैलीमा परिवर्तन गर्न सकिएको अध्यक्ष गिरिको भनाइ छ ।

“उनीहरू आफैका लागि काम गर्ने हो, यसको घर सधैँ सफा हुन्छ, शौचालय छ आयआर्जनका लागि पशुपालन गर्छन्, तरकारी खेती गर्छन् बालबालिका नियमित विद्यालय पठाउँछन्, उनीहरुलाई पुरस्कृत गछौँ, आफैँका लागि काम गर्दा पुरस्कृत हुँदा उनीहरूको जीवनशैलीमा परिवर्तन ल्याउन सकिए हो”, उहाँले भन्नुभयो ।”

वडा नं १ राजभोगका लक्ष्मी चेपाङले उक्त परियोजनाबाट आफ्नो परिवार र समुदायको जीवनशैलीमा परिवर्तन आएको बताउनुभयो । प्रतिस्पर्धामा सर्वोत्कृष्ट हुनुभएकी वडा नं १ कै थाप्राङकी सानु कान्छी चेपाङले पनि विगतका वर्षमा भन्दा यहाँका आफ्नो समुदायको जीवनशैली फरिएको बताउनुभयो ।

हातिवाङ माध्यमिक विद्यालयका प्रधानाध्यापक लोकबहादुर मगरले पनि यो परियोजना लागू भएसँगै विद्यार्थी नियमित विद्यालय आउने गरेको बताउनुभयो ।

गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले परियोजनाबाट बाटो देखाउने काम भएको र आफ्नो जीवनशैली परिवर्तन, जीविकोपार्जन, आर्थिक वृद्धिका लागि निरन्तर सक्रिय हुनुपर्नेमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो, “हामीले चेपाङ समुदायको जीवनशैली परिवर्तनका लागि बाटो देखाएका हौँ, सधैँ यो परियोजना हुँदैन फेरिएको सकरात्कम जीवनशैलीलाई आफैँले निरन्तता दिनुपर्छ ।”

शनिबार पनि परियोजनाअन्तर्गत आयोजित अन्तर घर प्रतियोगिता, आमा समूह, उत्कृष्ट किसान र स्वंयसेविकालाई पुरस्कार प्रदान गरेका थिए । एकसठ्ठी र दुई आमा समूहलाई पुरस्कार वितरण गरिएको इम्प्याक्टका व्यवस्थापक सुजन बस्नेतले जानकारी दिनुभयो । एघार कलस्टरबाट पाँच–पाँच गरी ५५ पुरस्कृत भएका थिए ।

चेपाङ समुदायको सरसफाइ, घरको अवस्था, करेसाबारी, शौचालयको अवस्था, विद्यार्थीको पढाइलगायतका क्षेत्र कमजोर रहेको पाइएपछि परियोजना सञ्चालनमा आएको जनाइएको छ ।