बजेटले नीति तथा कार्यक्रमका बीचमा कुनैपनि प्रकारको तादत्म्यता राखेको छैन : पूर्वअर्थमन्त्री पौडेल
काठमाडौं, २८ जेठ । पूर्वअर्थमन्त्री एवम् सांसद विष्णुप्रसाद पौडेलले सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि ल्याएको बजेटले नीति तथा कार्यक्रमका बीचमा कुनैपनि प्रकारको तादत्म्यता नराखेकाे बताउनुभएकाे छ ।
प्रतिनिधि सभाको आजको बैठकमा आगामी आर्थिक वर्षको राजश्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलका क्रममा सांसद पौडेलले सरकारको नीति तथा कार्यक्रम र बजेटबीच मेल नखाएको भन्दै यस्ताे बताउनुभएकाे हाे ।
उहाँले सरकारको सिद्धान्त र प्राथमकितासँग बजेटको सम्बन्ध हुँदैन भने नीति तथा कार्यक्रम ल्याउनुको औचित्य नरहने बताउनुभयाे ।
“यो बजेटले सिद्धान्त तथा प्राथमिकता, नीति तथा कार्यक्रमका बीचमा कुनैपनि प्रकारको सङ्गति र तादत्म्यता राखेको छैन । एक अर्कासँग अन्तरसम्बन्धित हुनुपर्नेमा नीति तथा कार्यक्रम एकातिर, सिद्धान्त र प्राथमिकता र अर्कैतिर र बजेट झन् अर्कैतिर गएका छन्”,
उहाँले हिउँदमा ३० र वर्षायाममा ५० युनिटसम्म बिजुली छुट दिने, गेटा मेटिकल कलेजलाई दशरथचन्द्र चिकित्सा विश्वविद्यालय बनाउनेलगायतका कार्यक्रमबाट बजेटमा पछि हटेको बताउनुभयाे ।
आर्थिक दायित्व खासै नपर्ने संस्थाहरू खारेज गर्ने अर्थमन्त्रीले खर्च कटौतीका लागि राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री र मन्त्रीलगायत जनप्रतिनिधिको सबै प्रकारको भत्ता खारेज गर्न किन सक्नुभएन ? उहाँले भन्नुभयाे, कमसे कम म आफैंले यो आर्थिक वर्षमा कुनै प्रकारको भत्ता लिन्न भन्न किन सक्नुभएन ?