काठमाडौँमा बागमती प्रदेशस्तरीय न्यायिक सम्मेलन सुरु: सर्वोच्चका न्यायाधीश मल्लद्वारा उद्घाटन

काठमाडौँ, १८ असोज । स्थानीय तहमा सम्पादन हुने न्याय सम्पादनलाई थप प्रभावकारी, पहुँचयोग्य र सर्वसुलभ बनाउने उद्देश्यका साथ काठमाडौँको बुढानीलकण्ठ नगरपालिकामा बागमती प्रदेशस्तरीय न्यायिक सम्मेलन सुरु भएको छ।

असोज १८ र १९ गते (दुई दिन) सम्म सञ्चालन हुने उक्त सम्मेलनको आइतबार एक विशेष समारोहका बिच सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश सपना प्रधान मल्लले भव्य उद्घाटन गर्नुभयो।

कार्यक्रमको उद्घाटन गर्दै न्यायाधीश मल्लले सर्वसाधारण नागरिकलाई छिटो-छरितो र निष्पक्ष न्याय दिलाउन स्थानीय तहका न्यायिक समितिको भूमिका महत्त्वपूर्ण हुने बताउनुभयो। संविधानले स्थानीय तहलाई दिएको न्यायिक अधिकारको सही उपयोग गर्दै न्यायमा आम नागरिकको पहुँच अभिवृद्धि गर्न यस्ता प्रादेशिक सम्मेलनहरू फलदायी हुने विश्वास उहाँले व्यक्त गर्नुभयो।

बुढानीलकण्ठ नगरपालिकाको आयोजनामा सुरु भएको यस सम्मेलनमा बागमती प्रदेशअन्तर्गतका विभिन्न जिल्लाका स्थानीय तहका उपप्रमुख तथा न्यायिक समितिका पदाधिकारी, कानुन व्यवसायी, न्यायिक क्षेत्रका विज्ञ र सरोकारवालाहरूको उल्लेख्य सहभागिता रहेको छ।

दुई दिनसम्म चल्ने सम्मेलनमा स्थानीय तहमा न्यायिक समितिका चुनौती, मेलमिलाप प्रक्रिया, कानुनी जटिलता र न्याय सम्पादनलाई प्रविधिमैत्री बनाउने विषयमा गहन छलफल तथा अनुभव आदानप्रदान हुने आयोजकले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *