कञ्चनपुरको लालझाडीमा पानी नपरेर उखु खेतमै सुक्न थालेपछि किसान चिन्तित

कञ्चनपुर, २९ जेठ । कञ्चनपुरको लालझाडीमा पानी नपरेर उखु खेतमै सुक्न थालेपछि किसान चिन्तित बनेका छन् ।

आम्दानीको स्रोतको रुपमा रहेको उखु खेतमै सुक्न थालेपछि किसान चिन्तित बनेका हुन । विगतका वर्षमा पनि उखु सुक्ने गरेको भए पनि यस वर्ष पानी नपर्दा उखुखेती अत्यधिक मात्रामा सुक्दै गएको हाे ।

कञ्चनपुरको लालझाडी गाउँपालिका–३ नन्दगाउँका लोकबहादुर बडायक केही दिनयता खेतखलियानमै व्यस्त हुनुहुन्छ । उहाँले दुई बिघाभन्दा बढी जमिनमा उखु खेती गर्नुभएको छ । उहाँकाे उखु केही दिनयता खेतमा सुक्न थालेको छ । त्यसैले खेतको उखु सिँचाइ गर्नैमा दिन बित्छ ।

“पानी नपर्दा गर्मीले खेतको उखु सुक्दै गएको छ, यस्तै रह्यो भने उखु सबै सुकेर नष्ट हुने सम्भावना छ”, उहाँले भन्नुभयो, “खेती जगाउन हम्मेहम्मे परेको छ ।” विगतका वर्षमा पनि उखु सुक्ने गरेको भए पनि यस वर्ष अत्यधिक मात्रामा उखु सुक्दै गएको उहाँको भनाइ छ ।

“यसपटक गर्मी पनि अत्यधिक छ, आकाशको पानी पनि परेको छैन”, उहाँले भन्नुभयो, “बोरिङबाट खेतमा पानी लगाइरहेका छौँ ।”

बेलौरी नगरपालिका–१० भुडाका धनीदत्त भट्ट खेतको उखु कसरी जोगाउने भनेर चिन्तित हुनुहुन्छ । दुई बिगाह जग्गामा उहाँले उखु खेती गर्नुभएको छ । करिब आधा बिघाभन्दा बढीको उखु सुकेर नष्ट भइसकेको उहाँले बताउनुभयो ।

उखु बेचेर घरखर्च जोहो गर्ने उहाँ यसपटक लगानी पनि निकाल्न पनि गाह्रो हुने बताउनुहुन्छ । केही दिनयता अत्यधिक गर्मी बढ्नुका साथै सिँचाइको लागि आकाशबाट पानी नपर्दा उखु खेतमै सुक्न थालेको कृषि ज्ञान केन्द्र कञ्चनपुरका सूचना अधिकारी हरि जोशीले जानकारी दिनुभयो ।

कञ्चनपुरको पुनर्वास, बेलौरी, लालझाडी, बेलडाँडी र दोधारा चाँदनीमा बढी उखु खेती हुने गरेको छ । जिल्लाभर आठ सयदेखि एक हजार हेक्टर जमिनमा उखु खेती हुने गरेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

कञ्चनपुरमा उखुको उत्पादन प्रतिहेक्टर ५५ देखि ६० टन हुने गरेको छ । यहाँका किसानका लागि उखु बेच्न बेलौरी र पुनर्वासमा मिल छ ।