काभ्रेकाे दाप्चामा बाथरोगसम्बन्धी स्वास्थ्य शिविरबाट ८८ जना लाभान्वित
काभ्रेपलाञ्चोक, ३ असार । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकाको दाप्चामा आयोजना गरिएको बाथरोगसम्बन्धी स्वास्थ्य शिविरमा ८८ जनाले स्वास्थ परिक्षण गराएका छन् ।
नेपाल रेडक्रस सोसाइटी डराउनेपोखरी उपशाखा तथा सहयोगी महिला जागरण मञ्चको सहकार्यमा नेशनल बाथरोग सेन्टरको प्राविधिक सहयोगमा दाप्चा माध्यमिक विद्यालयमा निःशुल्क स्वास्थ्य परीक्षण सेवा अयाेजना गरिएकाे हाे ।
शिविरमा विशेषज्ञ चिकित्सक तथा स्वास्थ्यकर्मीबाट स्वास्थ्य परीक्षण गरी निःशुल्क औषधिसमेत वितरण गरिएको नेपाल रेडक्रस सोसाइटी डराउनेपोखरी उपशाखाका सभापति नवीन अधिकारीले बताउनुभयो ।
उहाँका अनुसार परीक्षणपछि समस्या देखिएकालाई थप स्वास्थ्य परीक्षणसमेत निःशुल्क गरिएको थियो ।
नमोबुद्ध नगरपालिका प्रमुख कुनसाङ लामाले नागरिकलाई घरदैलोमै स्वास्थ्य परीक्षण सेवा उपलब्ध गराउन नगरपालिका निरन्तर लागिरहेको बताउनुभयो ।
गाउँघरमै बसेर स्वास्थ्य सेवा लिन पाउने व्यवस्था गर्न आयोजना गरेको शिविरबाट बाथरोगका बिरामी ८८ जनाले सेवा पाउनु खुसीको विषय भएको कार्यक्रम संयोजक बिलबहादुर श्रेष्ठले बताउनुभयो ।
नगरप्रमुख लामाले शिविर सञ्चालनका लागि सहकार्य गर्ने सहयोगी महिला जागरण मञ्च काठमाडौँका अध्यक्ष राधा श्रेष्ठ र नेशनल बाथरोग सेन्टरका तर्फबाट डा मनिषा भोछिभोयालाई कदरपत्र प्रदान गर्नुभएको थियो ।