कञ्चनपुरमा बालबालिकामा देखिएकाे कुपोषणको समस्या हट्दै

कञ्चनपुर, ३ असार । कञ्चनपुरकाे शुक्लाफाँटा नगरपालिका–११ कलुवापुरमा आधारभूत स्वास्थ्य केन्द्र सञ्चालनमा आएपछि बालबालिकामा देखिने कुपोषणको समस्या हट्दै गएको छ ।

तीन वर्षअघिदेखि सञ्चालन हुँदै आएको केन्द्रमा पहिलेको तुलनामा हाल केही मात्रामा बालबालिकामा कुपोषणको समस्या रहेको पाइएको छ ।

“केन्द्र मातहत रहेका महिला स्वास्थ्य स्वयंसेविकालाई वर्षको सुरुमै घर–घरमा खटाएर पाँच वर्षमुनिका बालबालिकाको तथ्याङ्क सङ्कलनकार्य गर्यौँ”, केन्द्रका प्रमुख कृष्णराज जोशीले भन्नुभयो, “कृपोषित भएका बालबालिकाको पहिचान गर्ने कार्य गरी स्वास्थ्य केन्द्रमा उपचारका लागि ल्यायौँ ।” तीन वर्षअघि कुपोषित हुने बालबालिकाको सङ्ख्या निकै बढी थियो ।

उपचारात्मक खानाको माध्यमबाट बालबालिकाको उपचार गरिएपछि हाल थोरैमात्रै बालबालिकामा कुपोषणको समस्या रहेको छ । गत वर्ष आठ जना बालबालिका कुपोषित रहेका थिए । यस वर्ष तीन जना बालबालिकामा मात्रै कुषोषणको समस्या रहेको छ ।

बालबालिका र आमालाई सन्तुलित खानाको प्रयोग गर्नुपर्दछ भन्ने कुरा घरमै गएर सम्झाउने गरेको महिला स्वास्थ्य स्वयंसेविका वृक्षी रानाले बताउनुभयो ।

स्वास्थ्य केन्द्र स्थापना भएपछि प्रत्येक वर्ष कुपोषित बालबालिकाको सर्भेको कार्य हुँदै आएकाले पहिलेको तुलनामा कुपोषित हुने बालबालिकाको सङ्ख्या घट्दै गएको उहाँले बताउनुभयो ।

केन्द्रको कार्यक्षेत्रभित्रका टोलमा पुगेर सन्तुलित खानाबारे स्थानीय बासिन्दालाई सचेत पार्नका लागि खाद्य प्रदर्शनीको कार्य गरिएको केन्द्र प्रमुख जोशीको भनाइ छ ।

उहाँका अनुसार आमा र बालबालिकालाई पोषिलो खानेकुरा खुवाउनुपर्छ भन्ने जानकारी अभिभावकले पाएपछि निकै सचेत भएका छन् । चालु आवदेखि प्रत्येक महिना पाखुराको नाप लिने र तौल लिने बालबालिकालाई वडा कार्यालयका तर्फबाट एक किलो आयोडिनयुक्त नुन र एकवटा साबुन निःशुल्क उपलव्ध गराउने व्यवस्था गरिएको छ ।

केन्द्रमा पुगेका एक सय ४९ बालबालिकाको नाप लिने र तौल लिने कार्य गरिएको छ । दुई वर्षमुनिका सबै बालबालिकालाई केन्द्रबाट बालभिटा र कुपोषित बालबालिकालाई उपचारात्मक खाना (आरयुटिएफ) दिइने गरेको छ । केन्द्रका स्वास्थ्यकर्मीका अनुसार बालबालिकाको प्रणालीबद्धरूपमा उपचार गरिँदै आइएको छ ।

जसअनुसार बालबालिकाको अवस्था हेरी भिटामिन ‘ए’ जुकाको औषधिसँगै अन्य रोगको औषधि उपलब्ध गराइँदै आएको छ । “महिला स्वास्थ्य स्वयंसेविका र स्वास्थ्यकर्मीको प्रयासले अभिभाकलाई जनचेतना दिने कार्य गरिएपछि कुपोषणबारे अभिभावक सेचत भएका छन्”, वडाध्यक्ष शेरबहादुर साउदले भन्नुभयो, “ब्यालेन्स डाइट आमा र बालबालिकालाई खुवाउनुपर्छ भन्ने कुराको जानकारी पाएसँगै अभिभावकले त्यसको जोहो गर्दै आएका छन्, यसको परिणामस्वरुप बालबालिकामा देखिने कुपोषणको समस्या निराकरण हुँदै गएको छ ।”