प्रचण्डको ६ महिने समीक्षाः भाषणमा कागजमुक्त, नगदमुक्त र लाइनमुक्त देश, तथ्यमा खोइ ?
काठमाडौंँ, १३ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज प्रतिनिधिसभामा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिदैँ कागजमुक्त, नगदमुक्त र लाइनमुक्त देश निर्माणमा आफूले भूमिका खेले दाबी गर्नुभएको छ । त्यति मात्रै होइन उहाँले सम्वोधन गर्दै पेट्रोलियम पदार्थको आयात न्यून बनाएर दशौं हजार मेगावट बिजुली निर्यात गर्ने उत्साहजनक बिन्दुमा आइपुगेको समेत दाबी गर्नुभयो । उहाँले उज्यालो भविष्यको यति नजिक यसअघि कहिल्यै नभएको पनि दाबी गर्नुभयो ।
उहाँले सामाजिक सञ्जालका चित्रहरूले राष्ट्रका प्राथमिकतालाई विषयान्तर गरिरहेको भान भएको बताउनुभयो । ‘हामीले गम्भीर भएर सोच्ने बेला आएको छ, कतै हामीबीच विषय विज्ञताभन्दा निन्दाबाजी त हाबी भइरहेको छैन ?’ उहाँले भन्नुभयो, ‘जनताका वास्तविक मुद्दाहरू हराउँदै गएर सतही सस्ता विषयले त महत्त्व पाइरहेका छैनन् ? कतै हामी राजनीतिज्ञ पनि सामाजिक सञ्जालका खहरे तालीका लागि विवेक र सीमा मिचिरहेका त छैनौँ ? कतै हाम्रै व्यवहारले राजनीतिको चरित्र र चेहरा त कमजोर भइरहेको छैन ?’
उहाँले लोकतन्त्र अब भावनात्मक आधारले मात्रै सुदृढ हुँदैन भन्दै त्यसलाई तत्थ्यात्मक आधार चाहिन्छ भन्नुभयो । ‘मतदाताका रूपमा देशमा एउटा नयाँ पुस्ता तयार भइसकेको छ, जसलाई युद्ध देख्नुपरेन। बिहान एक गाग्री पानीका लागि तीन घण्टा खोला धाउनुपरेन। विद्यालय पुग्न तीन चार घण्टा पैदल हिँड्नु परेन। त्यो पुस्ताले यो देशमा कुनै दिन इन्टरनेट र टेलिफोन काटेर, एयरपोर्ट र सडकसम्म बन्द गरेर देशमा चलाइएको शाही शासन देखेन,’ उहाँले भन्नुभयो, ‘सञ्चार गृहमै पसेर बर्दीधारी सैनिकहरूले सम्पादकहरूलाई के छाप्ने, के देखाउने र के सुनाउने भनेर निर्देशन दिन्थे भन्ने इतिहास आज सोसल मिडियामा उन्मुक्त पुस्तालाई थाहा छैन। आज त्यो पुस्तालाई हिजो देशमा दूधकै नदी बहन्थ्यो झैँ भाष्य खडा गरेर लोकतन्त्रबाट दिग्भ्रमित गर्न खोजिँदै छ। बीस वर्षअघि र आजको जनताको जीवनस्तरमा आएको परिवर्तनलाई बिर्साउन खोजिँदै छ। सुशासनमा समस्याले यो अवस्था सिर्जना भएको हो। सुशासनको प्रत्याभूति गर्दै लोकतन्त्रको शुद्धीकरणका लागि सिङ्गो संसद् एक ठाउँमा उभिनेछ भन्ने मेरो विश्वास छ।’
प्रधानमन्त्री प्रचण्डले ३५ अर्ब वैदेशिक लगानी र १५ हजारलाई रोजगारी सुनिश्चित भएको पनि दाबी गर्नुभयो ।