भक्तपुरमा आज किजा पूजा मनाइँदै
किजा पूजा
काठमाडौँ, कार्तिक २५ । नेवार समुदायमा दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम, आत्मीयता र सद्भावको प्रतीकका रूपमा मनाइने किजा पूजा आज भक्तपुरलगायत विभिन्न स्थानमा मनाइँदै छ ।
यस वर्षको स्वन्ति नखाः तिहार २०८३ अन्तर्गत किजा पूजा मनाउने मिति निर्धारण गर्न भक्तपुर तलेजुका पुजारी, ज्योतिष, कर्माचार्य, नवदुर्गा देवगण तथा जात्रा व्यवस्थापन समितिका पदाधिकारीलगायत सरोकारवालाबीच भएको छलफलबाट आजको दिन तय गरिएको हो ।
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिका अनुसार यस वर्ष कात्तिक २२ गते लक्ष्मी पूजा, २३ गते म्हः पूजा र २४ गते किजा पूजा गर्ने निर्णय गरिएको थियो । विभिन्न पात्रो तथा सरोकारवालाबाट फरक–फरक मिति सार्वजनिक हुँदा सर्वसाधारणमा अन्योल सिर्जना भएपछि तिथिको गणना र सरोकारवालासँगको छलफलका आधारमा निर्णय गरिएको उहाँले जानकारी दिनुभयो ।
निर्णयअनुसार कात्तिक २२ गते आइतबार बिहान १०ः५४ बजेपछि औँसी तिथि सुरु भएकाले साँझ दीपावलीसहित लक्ष्मी पूजा, कात्तिक २३ गते सोमबार बिहान ११ः३३ बजेपछि प्रतिपदा तिथि सुरु भएकाले साँझ म्हः पूजा र कात्तिक २४ गते मङ्गलबार दिउँसो १२ः४१ बजेपछि द्वितीया तिथि सुरु भएकाले साँझ किजा पूजा मनाउने तय गरिएको थियो ।
किजा पूजालाई नेवार समुदायमा भाइटीकाका रूपमा पनि चिनिन्छ । यस पर्वमा दिदीबहिनीले दाजुभाइको दीर्घायु, सुस्वास्थ्य, सुख र समृद्धिको कामना गर्दै विधिपूर्वक पूजा गर्ने परम्परा छ । म्हः पूजाको भोलिपल्ट मनाइने यस पर्वमा दिदीबहिनी दाजुभाइको घरमा पुगेर पूजा गर्ने चलन छ ।
किजा पूजाका अवसरमा पहिले भुइँमा रातो माटो वा लिपन गरी चामलको पीठोबाट मण्डल बनाइन्छ । सोही मण्डलमा दाजुभाइलाई राखेर पूजा गरिन्छ । पूजाका क्रममा दाजुभाइको वरिपरि तेलको घेरा बनाउने, बत्ती बाल्ने, विभिन्न पूजासामग्री चढाउने र सगुन दिने परम्परा रहेको छ ।
यस पर्वमा बिमिरो, ओखर, मखमली फूलको माला, दुबो, धागो, फलफूल तथा विभिन्न परिकारको विशेष महत्त्व हुन्छ । नेवार समुदायमा अण्डा, माछा, मासु, बारा र रक्सी समावेश भएको पाँच प्रकारको सगुन दिने चलन छ । यसलाई पञ्चतत्वको प्रतीकका रूपमा लिने गरिन्छ । दिदीबहिनीले दाजुभाइलाई सप्तरङ्गी टीका र मखमली फूलको माला लगाइदिई प्रसाद प्रदान गर्छन् भने दाजुभाइले दिदीबहिनीलाई उपहार तथा दक्षिणा दिने परम्परा छ ।
भक्तपुरकी सुनिता सुवालका अनुसार किजा पूजामा सामान्यतः दिदीले भाइलाई पूजा गर्ने चलन भए पनि भक्तपुरमा बहिनीले दाइलाई समेत पूजा गर्ने परम्परा छ । यहाँ फूपूले भतिजलाई पनि पूजा गर्ने चलन रहेको छ । ज्येष्ठताका आधारमा महिलाले पुरुषलाई पूजा गर्ने यो परम्परा भक्तपुरको सांस्कृतिक विशेषताका रूपमा रहेको उहाँले बताउनुभयो ।
इतिहासविद् मुक्तिसुन्दर जधारीका अनुसार किजा पूजासँग यमराज र यमुनाको पौराणिक कथासमेत जोडिएको छ । पौराणिक मान्यताअनुसार यमुनाले आफ्ना दाजुलाई मृत्युबाट जोगाउन यमराजसँग विभिन्न सर्त राखेर पूजा गर्नुभएको थियो । मखमली फूल नओइलाएसम्म र तेलको घेरा नसुकेसम्म दाजुभाइलाई मृत्युले छुन नसक्ने विश्वासका साथ पूजा गरिएको कथन रहेको उहाँले बताउनुभयो ।
यही धार्मिक तथा सांस्कृतिक मान्यताका आधारमा दिदीबहिनीले दाजुभाइको दीर्घायु र सुखसमृद्धिको कामना गर्दै किजा पूजा गर्ने परम्परा विकसित भएको विश्वास गरिन्छ । यस पर्वले पारिवारिक सम्बन्धलाई प्रगाढ बनाउनुका साथै आपसी प्रेम, विश्वास र सहयोगको भावना अभिवृद्धि गर्ने मान्यता रहेको छ ।
