देउसीभैलोले विश्रान्ति वृद्धाश्रममा छायो तिहारको रौनक : ज्येष्ठ नागरिकमा खुसी

ज्येष्ठ नागरिकका लागि तिहार

काठमाडौँ, कार्तिक २४ । परिवार र आफन्तबाट टाढिएर वृद्धाश्रममा जीवन बिताइरहेका ज्येष्ठ नागरिकका लागि तिहारको खुसी प्रायः सम्झनामै सीमित हुने गर्छ । तर यस वर्ष धनकुटाको मुलघाटस्थित विश्रान्ति वृद्धाश्रममा कलाकारको टोली देउसीभैलो लिएर पुगेपछि आश्रित ज्येष्ठ नागरिकले चाडपर्वको उल्लाससँगै आत्मीयता र अपनत्वको अनुभूति गर्न पाए ।

धनकुटा नगरपालिका–९ मुलघाटस्थित वृद्धाश्रममा वरिष्ठ लोकगायक तुलसी पराजुलीको नेतृत्वमा २० जना कलाकार बाजागाजासहित पुगेर देउसीभैलो, गीत तथा नृत्य प्रस्तुत गरेका थिए । कलाकारको प्रस्तुतिले वृद्धाश्रममा आश्रित ३६ जना ज्येष्ठ नागरिकको मुहारमा खुसी छाएको थियो ।

कलाकारको टोलीमा ७६ वर्षीया गायिका टीकादेवी पराजुलीसहित मेघराज घिमिरे, दुर्गा पराजुली, नगेन्द्र कटुवाल, मेखराज कार्की, रमेश अधिकारी र तारा ढकाललगायत सहभागी थिए ।

गायक तुलसी पराजुलीले ‘खोटाङ जिल्ला दिक्तेल बजार’, ‘कान्छीको छाता ढल्काइदेऊ यता’ र ‘सालैज्यू सालैज्यू’ लगायत आफ्ना चर्चित गीतसहित करिब एक दर्जन प्रस्तुति दिनुभएको थियो । मेघराज घिमिरेले हुर्रा भाकाका गीतमार्फत सहभागीलाई नचाउनुभयो भने दुर्गा पराजुलीले पनि आफ्ना चर्चित गीत सुनाएर मनोरञ्जन प्रदान गर्नुभयो ।

कलाकारको गीत र सङ्गीतमा वृद्धाश्रमका ज्येष्ठ नागरिक पनि नाच्दै र गाउँदै रमाएका थिए । कतिपय भावुक बनेर आँसु झारे भने कतिपय गीतको तालमा नाचेर खुसी साटासाट गरिरहेका थिए । गायिका टीकादेवी पराजुलीले ७६ वर्षको उमेरमा हालै रेकर्ड गराउनुभएको गीत प्रस्तुत गर्दा सहभागीले उत्साहपूर्वक साथ दिएका थिए ।

स्थानीय संयोजक रमेशचन्द्र अधिकारीका अनुसार कलाकारको प्रस्तुतिले वृद्धाश्रमको वातावरण उल्लासमय बनेको थियो । ‘परदेशबाट फर्की आयौँ, आफ्नै देशको माटो सम्झेर…’ भन्ने गीत गुञ्जिँदा विश्रान्ति आमा समूहकी सक्रिय सदस्य उर्मिला श्रेष्ठ भावुक बन्नुभएको थियो ।

वृद्धाश्रममा डेढ दशकदेखि बस्दै आउनुभएकी चितवनकी सुशीला वैद्यका लागि कार्यक्रम विशेष रह्यो । आफन्त हुँदाहुँदै पनि भेटघाट गर्न नआउने गरेको पीडा सुनाउँदै उहाँले लामो समयपछि मनैदेखि खुसी भएर रमाउने अवसर पाएको बताउनुभयो ।

“म यहाँ आएको यत्तिका वर्षपछि आज मनदेखि नै खुसी भएर रमाइलो गर्न पाएँ”, उहाँले भन्नुभयो, “चाडपर्वमा नदी किनारमा बसेर आफन्त सम्झँदै आँसु खसाल्दा मन हलुका बनाएकी छु ।”

वाकरको सहायताले हिँडडुल गर्ने वैद्य पनि गीतको तालमा हात हल्लाउँदै कलाकारलाई साथ दिइरहनुभएको थियो । भोजपुर घर भएकी ७५ वर्षीया सीता तामाङले भने अधिकांश गीतमा नाचेर आफ्नो उत्साह व्यक्त गर्नुभयो ।

विगतमा अन्यत्र देउसीभैलो खेल्दै आएका कलाकार यस वर्ष वृद्धाश्रमका ज्येष्ठ नागरिकसँग तिहार मनाउन पाउँदा विशेष आत्मसन्तुष्टि मिलेको बताउँछन् । गायक तुलसी पराजुलीले परिवारबाट टाढिएका ज्येष्ठ नागरिकको अनुहारमा खुसी ल्याउन पाउँदा आफूहरूलाई पनि आनन्द मिलेको बताउनुभयो ।

“परिवारबाट टाढिएका व्यक्तिको अनुहारमा खुसी ल्याउन पाएको महसुस भएको छ”, उहाँले भन्नुभयो, “उहाँहरूसँगै देउसी खेल्न पाउँदा मनैदेखि खुसी लागेको छ । आत्मसन्तुष्टि मिलेको छ ।”

कलाकार टोलीले मनोरञ्जन प्रदान गर्नुका साथै वृद्धाश्रमलाई आर्थिक तथा खाद्य सामग्री सहयोगसमेत गरेको छ । टोलीले रु २२ हजार नगदसहित खाद्यान्न र फलफूल वितरण गरेको हो । गायक पराजुलीको परिवारका तर्फबाट रु ११ हजार १०० सहयोग प्रदान गरिएको थियो भने समाजसेवी प्रताप थापा, सुमन तामाङलगायतले पनि आर्थिक सहयोग गर्नुभएको थियो ।

सहयोगी दातालाई वृद्धाश्रमका सल्लाहकार स्वामी विजयानन्द सरस्वती, व्यवस्थापक पद्मप्रसाद काफ्ले, कार्यवाहक महासचिव पुष्करप्रसाद जोशी र क्रियाशील सदस्य दिनेश श्रेष्ठले सम्मानपत्र प्रदान गर्नुभएको थियो । वृद्धाश्रमका तर्फबाट कलाकार टोलीलाई समेत सम्मान गरिएको थियो ।

यस कार्यक्रमले चाडपर्वको खुसी परिवार र आफन्तसँग मात्र नभई समाजमा एक्लिएका तथा ज्येष्ठ नागरिकसँग पनि बाँड्न सकिने सन्देश दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *