आज हरिशयनी एकादशी, हिन्दु धर्मावलम्बीहरूले घरघरमा तुलसीको बिरुवा राेपिँदै
काठमाडौं, १४ असार । भगवान विष्णुको प्रतीकका रुपमा मानिने तुलसीकाे बिरुवालाई आज हिन्दु धर्मावलम्बीहरूले घरका माेठमा राेपिँदै छ ।
प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घर घरमा तुलसीको बिरुवा राेपेर चार महिनासम्म गरिने विशेष पूजा आराधना आजदेखि सुरु भएकाे हाे ।
एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिन राखिएको तुलसीकाे दलको बिरुवा आज मोठमा राेपिने गरिन्छ । आजदेखि कार्तिक शुक्ल एकादशीका दिनसम्म तुलसीको विशेष पूजा गर्ने गरिन्छ ।
भगवान् विष्णु शयन गर्ने चार महिनालाई चतुर्मासा पनि भनिन्छ । यस वर्ष भने साउन महिनामा अधिकमास परेकाले पाँच महिना हुने भएको छ ।
एक वर्षमा २४ एकादशी पर्छन् । यस वर्ष भने अधिकमासका दुईसमेत गरी २६ एकादशी परेका छन् । सक्नेले सबै एकादशीमा फलाहार मात्र गरेर व्रत बस्छन् । नसक्नेले चतुर्मासाका चार महिनामा पर्ने आठ एकादशीमा व्रत गर्छन् । कामकाजमा सक्रिय हुनुपर्ने र चार महिनासम्म पनि फलाहार गर्न नसक्नेले भने हरिशयनी एकादशी र हरिबोधिनी एकादशीका दिन फलाहार गरी व्रत बस्ने गर्छन् ।
हरिशयनी एकादशीका अवसरमा आज बिहानैदेखि काठमाडाैंकाे बूढानीलकण्ठ, उपत्यकाका चार नारायणलगायत देशभरका नारायण एवं विष्णु मन्दिरमा भक्तजनको भीड लाग्ने गर्दछ ।
वैज्ञानिकरुपमा बढी अक्सिजन पाइने प्रमाणित भएको तुलसी विभिन्न रोगका लागि औषधिका रुपमा समेत प्रयोग गर्ने गरिन्छ । तुलसीको मोठ भएका स्थानमा रोग सार्ने विषालु प्रकारका कीटाणु नआउने विश्वाससमेत गरिन्छ । वास्तु दोष भएका स्थानमा तुलसीको मोठ राख्नाले सकारात्मक फल प्राप्त हुने मान्यतासमेत छ । तुलसी भएका स्थानमा शुद्ध हावा बहने तथ्यसमेत वैज्ञानिकरुपमा पुष्टि भएको छ ।