भक्तपुरमा अविरल वर्षाले पाक्नै लागेको धानबाली नष्ट

भक्तपुर, २२ भदौ । गएराति परेको अविरल वर्षा र हावाहुरीका कारण पाक्नै लागेको वर्षे धानबालीमा व्यापक क्षति पुगेपछि भक्तपुरका किसानहरू चिन्तित बनेका छन्। धान काट्ने समय नजिकिँदै गर्दा परेको ठूलो वर्षा र हुरीले धान ढालेपछि वर्षभरिको मिहिनेत खेर जाने चिन्ता उनीहरूमा थपिएको हो।

चाँगुनारायण नगरपालिका–५, छालिङका किसान सौगात गिरीका अनुसार राति परेको वर्षाका कारण स्थानीय खोला खेतमा पस्दा धानबाली डुबानमा परेको हो। खोलामा लामो समयदेखि थुप्रिएको फोहोरको थुप्रो खेतमा पस्दा धानबालीमा थप क्षति पुगेको उहाँले बताउनुभयो। बर्खायाममा खेत डुबानको दीर्घकालीन समस्या समाधानका लागि खोला तथा खोल्साको उचित व्यवस्थापन, फोहर व्यवस्थापन र व्यवस्थित कोरिडोर निर्माण गर्न स्थानीय तहसँग माग गरिए पनि ठोस काम हुन नसकेको किसानहरूको गुनासो छ।

अर्का स्थानीय किसान रामप्यारी सुवालले पाक्न ठिक्क परेको धान ढलेपछि सोझै सडेर नष्ट हुने र जनशक्ति लगाएर पुनः उठाउन खोजे पनि त्यसमा चामल नलाग्ने (भुसमा परिणत हुने) बताउनुभयो।

भक्तपुर, मध्यपुर थिमि, सूर्यविनायक र चाँगुनारायण चारवटै नगरपालिकाका ठूलो क्षेत्रमा धानखेती गरिँदै आएको छ। तर, पछिल्लो समय तीव्र रूपमा भइरहेको अव्यवस्थित सहरीकरण र भौतिक संरचना विस्तारका कारण प्राकृतिक पानी बग्ने मार्गहरू थुनिएकाले सामान्य वर्षामा पनि खेतहरू डुबानमा पर्ने गरेको किसानहरूको अनुभव छ।

धानबाली नष्ट भएपछि पीडित किसानहरूले स्थानीय सरकारसमक्ष तत्काल क्षतिको स्थलगत अनुगमन गरी वास्तविक विवरण सङ्कलन गर्न तथा प्रभावित परिवारलाई उचित राहत एवं क्षतिपूर्ति उपलब्ध गराउन माग गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *