जमिन चिराचिरा परेपछि बैतडीका १८ घरधुरी पहिरोको उच्च जोखिममा, सुरक्षित स्थानमा सर्न आग्रह
बैतडी, २२ भदौ । बस्तीमाथिको जमिनमा ठूला चिरा र दरार परेपछि बैतडीको डिलाशैनी गाउँपालिका–१, बरभकेका १८ घरपरिवार पहिरोको उच्च जोखिममा परेका छन्। केही दिनदेखि जारी अविरल वर्षाका कारण माटो खुकुलो भई बस्तीमाथि पहिरो खस्ने त्रास बढेको हो।
स्थानीय बासिन्दा लक्ष्मण जागरीका अनुसार बस्तीभन्दा करिब ५०० मिटरमाथि जमिन चिराचिरा परेर भासिएकाले पूरै गाउँ जोखिममा परेको छ। डिलाशैनी–१ का वडाध्यक्ष कृष्णकुमार धामीले आइतबार स्थानीय जनप्रतिनिधि, प्रहरी र प्राविधिक कर्मचारीहरूको टोलीले सो क्षेत्रको स्थलगत निरीक्षण गरेको जानकारी दिनुभयो।
“बस्तीभन्दा माथिको जमिन चिराचिरा परेर भासिएको छ। वर्षा निरन्तर भइरहेकाले पहिरोको जोखिम उच्च छ, त्यसैले जोखिममा रहेका परिवारलाई तत्काल सुरक्षित स्थानमा सार्ने पहल भइरहेको छ,” वडाध्यक्ष धामीले भन्नुभयो।
वडा कार्यालयका अनुसार गोरेदत्त भट्ट, कृष्णदत्त भट्ट, महावीर धामी, दूरा धामी, जसिदत्त भट्ट, मनिदरा भट्ट, लक्ष्मण जागरी, प्रताप जागरी, अकबर जागरी, नवराज भट्ट, धौले खत्री, कमल खत्री, जसे खत्री, कैले खत्री, प्रकाश धामी, धनबहादुर खत्री, ईश्वरदत्त भट्ट र धर्मराज भट्टको परिवार पहिरोको उच्च जोखिममा परेका छन्।
गाउँपालिकाका अध्यक्ष सन्तोष जोशीले जोखिमयुक्त क्षेत्रका परिवारहरूलाई तत्कालका लागि आफन्तको घर वा सुरक्षित सार्वजनिक स्थानहरूमा आश्रय लिन आग्रह गरिएको बताउनुभयो। जमिनमा देखिएको दरारका कारण थप वर्षा भएमा विपद् आउन सक्ने भएकाले स्थानीय बासिन्दालाई उच्च सतर्कता अपनाउन गाउँपालिकाले अनुरोध गरेको छ।