बकर इद मनाउँदै मुस्लिम धर्मावलम्बीहरू (तस्बिरहरू)
काठमाडाैं, १४ असार । मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद आज देशभरका मस्जिदहरूमा मनाइँदै छ ।
इदुल फित्र अर्थात् रमजान पर्वको ७०औँ दिनमा बकर इद मनाउने धार्मिक विधि छ । मुस्लिम धर्मावलम्बीले आज बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्छन् । नमाज पढिसकेपछि एकापसमा शुभकामना आदान प्रदान गर्ने गरिएको छ ।
काठमाडाैंकाे दरबारमार्गस्थित नेपाली जामे मस्जिद, काश्मीरी मस्जिदलगायत देशभरका मस्जिद र इदगाहमा मुस्लिम धर्मावलम्बीको भीड लागेकाे छ ।
हिजरी संवत्अनुसार १४३९ वर्ष पहिले अल्लाहको आदेशमा इब्राहिमले आफ्ना छोरा इस्माएल अलेह सलामलाई बलिदान गर्न तयार भएको सम्झनामा यो पर्व मनाउन थालिएको हाे ।
यस पर्वका अवसरमा मक्का मदिना जानु शुभ मानिन्छ । मक्का मदिना जान गृह मन्त्रालयले आतेजाते विमान टिकटको व्यवस्था गरी हजयात्रा गराउने गरेको छ । यसका लागि गृहमन्त्रालयअन्तर्गत हज समितिको सचिवालय स्थापना गरिएको छ ।
मक्का मदिना जान नपाउने हजयात्रीले समेत घरघरमै बकर इद मनाउँछन् । यो पर्वको मुख्य उद्देश्य नै हजयात्रा हो । यस पर्वमा अल्लालाई खुसी पार्न मुसलमानले धर्मले जायज मानेका जनावरलाई बलि (कुर्बानी) दिन्छन् ।
कुर्बानीको मासु तीन भागमा बाँडी वितरण गरिन्छ । एक भाग गरिब एवं विपन्न परिवारलाई, अर्को भाग आफ्ना इष्टमित्रलाई र तेस्रो भाग आफैँले खानुपर्ने मुस्लिम धार्मिक मान्यता छ । यसैअनुसार आज पहिलो दिनको बकर इद मनाइँदै छ । मुस्लिम धर्मावलम्बीले शनिबारसम्म यो पर्व मनाउने छन् ।
तस्बिर (रासस)