ओलीलाई सञ्चारकर्मीको प्रश्नः जलहरीमा नाम किन राखेको ? ओलीको जवाफः त्रिवि त्रिभूवनको नामबाट किन राखियो ?
काठमाडौं, १४ असार । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जलहरीको विषयमा सरकारले अतिरञ्जित गरेर अफवाह फैलाएको आरोप लगाउनु भएको छ । रोपाईं दिवसको कार्यक्रममा भाग लिन चितवन पुग्नु भएका ओलीले यस्तो आरोप लगाउनु भएको हो । स्थानीय सञ्चारकर्मीहरुले उठाएको प्रश्नमा उहाँले भन्नुभयो– ‘सरकारी खर्चमा बनेका संरचनाहरूमा उदघाटन–शिलान्यास गर्नेहरुको नाम राखिनु नौलो कुरा होइन ।’
उहाँले सञ्चारकर्मीलाई जलहरीबारे के प्रश्न गरेको हो भनी पुनः प्रश्न गरेपछि सञ्चारकर्मीहरुको सोधेको प्रश्नको जवाफ दिदैँ भन्नुभयो– एकजना मान्छेले भनेको सुनियो । सुन होइन पित्तल चढाएको हो, भ्रष्टाचार गरेको हो। एक दुई दिन त त्यसले पनि मार्केट पायो । ओहो, क्या गज्जब १ भेटियो भनेर सञ्चारमाध्यमलाई पनि राम्रै मौका मिलेको थियो । पछि त्यो सुनै रहेछ भन्ने थाहा भयो । त्यसपछि ११ किलो सुन कहाँ गयो ? भनेर कुरा उठ्यो । त्यो पनि तौलिएपछि थाहा भयो होला । यो मेरो विषय हो र मलाई सोध्नुभएको ?’
जलहरीबारे पुनः प्रश्न गर्दै सञ्चारकर्मीले फेरि प्रश्न गर्दै भने– ‘राष्ट्रपतिज्यू, प्रधानमन्त्रीज्यूको नाम कुँदिएको भन्ने पनि छ नि ? त्यसपछि फेरि ओलीले जवाफ दिनुभयो– शिलान्यास÷उदघाटन गरेको ठाउँमा उदघाटन गर्नेको नाम लेखेको हुन्छ कि हुँदैन ? सरकारी सम्पत्तिमा बनाएका भवन आदि–इत्यादि कसका नाममा छन ? त्रिभुवन विश्वविद्यालय त्रिभुवनको निजी खर्चबाट बनाएको हो ? वीरेन्द्र अस्पताल वीरेन्द्रको निजी खर्चबाट बनाएको हो ? अरु विभिन्न त्यस्तै‘ त्यो त मलाई थाहा हुने कुरा भएन । मैले थाहा पाउने कुरा हो त्यो ? कसकसको नाम थियो ? अर्को कुरा पशुपति विकास कोषको मान्छे थियो होला ।’
फेरि सञ्चारकर्मीहरुको प्रश्न आयो– ‘त्यसो भए यसो गर्नु स्वाभाविक हो भन्न खोज्नुभएको ?’ ओलीले भन्नुभयो– ‘स्वाभाविक–अस्वाभाविकको कुरा नै होइन । आफैं छानबिन गर्नुस न । मसित किन सोध्नुहुन्छ ? मैले लगेर टाँसेको हो नाम ? मलाई सोधेर टाँस्या हुन ? हल्लाका पछाडि हल्काफुल्का तरिकाले नकुदनुस् । देश अप्ठेरोमा छ । गम्भीर अवस्थामा गम्भीरतापूर्वक गम्भीर विषय उठाउनुहोला । जलहरीको सम्बन्धमा भएको के रहेछ ? पित्तल चढाएको रहेछ ? ११ किलो सुन खाएको रहेछ ? खाएको भए पनि मसित सम्बन्धित हो ? मैले त पैसा दिने हो, पशुपति विकास कोषलाई ।’ सञ्चारकर्मीहरुले एकोहोरो त्यति प्रश्न दोहोर्याएपछि ओलीले आफ्नो परिचित ठट्यौली शैलीमा भन्नुभयो– ‘अच्छा, अनि यहाँ (चितवनमा) रिक्सा दुर्घटना भयो भने प्रचण्ड जिम्मेवार हुने ?’