गिरिजाबाबु र मदन भण्डारीबारे प्रचण्डले दिने अभिव्यक्ति मनगढन्त कि वास्वविक ?

काठमाडौं, १८ असार । नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहनु भएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसका तत्कालिन सभापति गिरिजाप्रसाद कोइरालालाई सम्झिदाँ अक्सर नछुटाउने एउटा शब्द छ । त्यो भनेको मृत्युको अन्तिम पलमा गिरिजाप्रसाद कोइरालाले प्रचण्डलाई एक्लै बोलाएर ‘देश सम्हाल्नुस् है’ भनेर गरेको आग्रह । यी अभिव्यक्ति प्रचण्डले पटक–पटक दोहोर्याउने अभिव्यक्ति हुन् । अहिले गिरिजाप्रसाद कोइराला जिवित हुनुहुन्न ।

उहाँको आज १०० औँ जन्मजयन्ती मनाइयो । आज कोइरालाको को १०० औँ जन्मजयन्तीका अवसरमा जिपी कोइराला मेमोरियल कलेजद्वारा आयोजित कार्यक्रममा पनि प्रचण्डले त्यहि अभिव्यक्ति दोहोर्याउनु भयो । ‘अस्पतालमा जतिवेला गिरिजाबाबु मृत्युसँग जुधिराख्नुभएको थियो मलाई एक्लै बोलाएर देश सम्हाल्नुस् भनेका कुराहरूले मलाई गिरिजाप्रसाद कोइरालाप्रति अगाध आस्था र विश्वास भइराख्यो,’ प्रचण्डले भन्नुभयो, ‘शान्तिको रक्षा गर्ने कुरा, संविधानको रक्षा गर्ने कुरा र समग्र प्रक्रियाको रक्षा गर्ने कुरामा धेरै ठुलो दायित्व छ भन्ने कुराको प्रेरणाको स्रोत गिरिजाप्रसाद कोइराला हो ।’

प्रचण्डले गिरिजाप्रसादको पार्थिव शरीर अगाडि गरेको सङ्कल्प नभुल्ने पनि प्रतिवद्धता व्यक्त गर्नुभयो । ‘गिरिजाबाबुले शान्ति प्रक्रियामा आउनुपर्‍यो तपाईँहरूको कुरा के छन् सहमति गरौँ भन्नुभयो। मैले पनि धेरै भन्नु छैन। हामी शान्तिमा आउँछौँ। तपाईँले गणतन्त्र आइदिनुपर्‍यो भनेको थिएँ,’ गिरिजाबाबुको सम्झना गर्दै प्रचण्डले भन्नुभयो, ‘उहाँले पहिलो भेटमा गणतन्त्रमा आउँछु भन्नुभएन। तर, विश्वास दिलाउनुभएको थियो। उहाँ गणतन्त्रको लागि तयार भइसक्नुभएको रहेछ। मैले पनि उहाँलाई विश्वास दिलाएँ। त्यहीबाट १२ बुँदे समझदारी, विस्तृत शान्ति सम्झौता, संविधानसभा र संघीय लोकतान्त्रिक गणतन्त्र। यो सामान्य तरिकाले आएको होइन।’

प्रचण्डले त्यो असाधारण प्रकृतिको राजनीतिक सम्झौता भएको भन्दै एउटा ठुलो सामाजिक रुपान्तरणको महाअभियान पनि भएको उल्लेख गर्नुभयो । ‘पहिलो भेटदेखि उहाँ कुनै दुबिधा, अविश्वास वा अस्थिरता देखिनँ। बरु मैले गल्ती गरेँ तर, उहाँले गर्नुभएन। उहाँसँग पहिलो भेटमा भनेका कुरा र लिएका कुरा सबै पुरा गर्न सकिन, तर मैले उहाँको विपरीत निर्णय गर्दा पनि मलाई विश्वास गर्न छाड्नुभएन,’ पश्चताप गर्दै भन्नुभयो, ‘मलाई कुनै न कुनै रूपमा संरक्षण गर्नुभयो। गणतन्त्र घोषणा भएपछि म पहिलो प्रधानमन्त्री हुँदा उहाँलाई राष्ट्रपतिको प्रस्ताव गर्नुपर्थ्यो। मैले गर्न सकिन। मलाई पश्चात्ताप छ। मैले प्रस्ताव नगरेपछि पहिलाको जस्तो विश्वास गर्नुहुन्न भन्ने लागेको थियो। तर, उहाँले मेरो नेतृत्व देशको लागि आवश्यक छ भनिराख्नुभयो।’

अहिले गिरिजाबाबु जिवित हुनुहुन्न । तर, प्रचण्डले उहाँले एक्लै बोलाएर देश सम्हाल्नु भनेको अभिव्यक्ति पटक–पटक भन्ने गर्नुभएको छ । एक्लै बोलाएको भनेपछि त्यहाँ ती अभिव्यक्ति सुन्ने दोस्रो व्यक्ति हुने कुरा पनि भएन । त्यो दिन गिरिजाबाबुले प्रचण्डलाई त्यसो भन्नुभएको थियो वा प्रचण्ड आफैँले त्यो सम्वादलाई मनगढन्तरुपमा बाहिर ल्याइरहनु भएको छ ? त्यो प्रचण्ड आफैँले जान्ने कुरा भयो ।

कोइराला मात्रै होइन स्वर्गीय मदनकुमार भण्डारीका बारेमा पनि प्रचण्डले यस्तै अभिव्यक्ति दोहोर्याउने गर्नुभएको छ । भण्डारीको चितवनको दासढुङ्गामा २०५० साल जेठ ३ गते निधन भयो । अहिले जननेता मदन भण्डारी पनि जिवित हुनुहुन्न । तर, प्रचण्डले अहिले पनि मदनसँग त्यहि महिना अर्थात् जेठ ११ गते लामो छलफल गर्ने तय भएको अभिव्यक्ति दिदैँ आउनु भएको छ । यतिसम्म कि त्यो भेटमा मदन भण्डारी र आफूबीच नेपालको कम्युनिष्ट आन्दोलनलाई अब कसरी अगाडि बढाउने, नेपालको समग्र राजनीतिक घटनाक्रमलाई कम्युनिष्टको तर्फबाट हस्तक्षेप गर्ने भन्ने अजेण्डाहरु नै बनाएको जस्ता अभिव्यक्ति दिने गर्नुभएको छ । तर, दुबै नेतासँग जोडेर प्रचण्डले दिने अभिव्यक्ति साच्चिकै हुन् वा मनगढन्त ? यस्को आधार भने केही भेटिदैँन ।