भेँडाबाख्राका रक्षक : गोठालाका भरपर्दा सारथि
भोटे कुकुर
काठमाडौँ, कार्तिक २२ । अग्ला पहाड, घना जङ्गल र विकट भूगोलका बीच महिनौँसम्म घुम्ती गोठमा बसेर भेँडाबाख्रा पालन गर्ने म्याग्दीका किसानका लागि भोटे कुकुर अभिन्न साथी र भरपर्दो सुरक्षाकर्मी बनेका छन् । जङ्गली जनावरको आक्रमणबाट पशुधन जोगाउन, बथानको रेखदेख गर्न र गोठालालाई सम्भावित जोखिमबारे सचेत गराउन यी कुकुरले महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन् ।
धवलागिरि गाउँपालिका–५ मल्कवाङका हिमबहादुर छन्त्यालको गोठमा अहिले पाँच वटा भोटे कुकुर छन् । संयुक्त अरब इमिरेट्स (युएई) मा २० वर्ष रोजगारी गरेर फर्किनुभएका ५० वर्षीय छन्त्यालले आफ्नो फार्ममा रहेका ६०० भेँडाबाख्राको सुरक्षाका लागि ती कुकुर पाल्नुभएको हो ।
“घना जङ्गल, अग्ला पहाड र विकट भूगोलमा महिनौँसम्म गोठमा बसेर भेँडाबाख्रा पालन गर्ने किसानका लागि कुकुर घरपालुवा जनावर मात्र होइनन्, भरपर्दा साथी र सुरक्षाकर्मी पनि हुन्”, छन्त्यालले भन्नुभयो, “सयौँको सङ्ख्यामा रहेका पशुचौपायाको हेरचाहदेखि जङ्गली जनावरको आक्रमणबाट जोगाउनसम्म कुकुरले गोठालालाई सघाउँदै आएका छन् ।”
म्याग्दी, मुस्ताङ र ढोरपाटन क्षेत्रका घुम्ती गोठमा पशुपालन गर्ने किसानका लागि कुकुर अनिवार्य सहयोगी बनेका छन् । सहरबजारमा सोख र घरको सुरक्षाका लागि कुकुर पाल्ने चलन भए पनि विकट पहाडी तथा हिमाली क्षेत्रमा पशुधनको सुरक्षाका लागि कुकुर पाल्नु किसानको आवश्यकता र बाध्यता दुवै भएको धवलागिरि गाउँपालिका–४ सिम्कोशका भेडापालक किसान आस्मान पुर्जा बताउनुहुन्छ ।
उहाँका अनुसार यहाँका गोठालाले अग्लो शरीर, ३० किलोग्रामभन्दा बढी तौल र बलियो शारीरिक बनावट भएका कम्तीमा दुई वटा भोटे कुकुर पाल्ने गर्छन् । यी कुकुरले जङ्गली जनावरको चाल छिट्टै थाहा पाउने, गन्ध सुँघेर खतरा पहिचान गर्ने र गोठालालाई सङ्केत दिने क्षमता राख्छन् । भोटे कुकुरका छाउरा प्रतिगोटा १० हजार रुपैयाँभन्दा बढी मूल्यमा बिक्री हुने गरेको पुर्जाले जानकारी दिनुभयो ।
अन्नपूर्ण गाउँपालिका–५ पाउद्वारका ८१ वर्षीय लालवीर तिलिजाको अनुभवमा कुकुरबिना सयौँ पशुचौपायाको रेखदेख गर्न गोठालालाई निकै कठिन हुन्छ । सात दशकदेखि भेँडापालन गर्दै आउनुभएका तिलिजाले जङ्गली जनावरको चाल सुन्ने र गन्धबाटै पहिचान गर्ने कुकुरको क्षमताले गोठालाको दैनिकी सहज र सुरक्षित बनाएको बताउनुभयो ।
“कुकुर नहुने हो भने किसानले धेरै क्षति र दुःख बेहोर्नुपर्छ”, उहाँले भन्नुभयो ।
गोठ वरपर चितुवा, ब्वाँसो, भालु र स्यालजस्ता जङ्गली जनावरको जोखिम रहने भएकाले भोटे कुकुरले चौबीसै घण्टा पहरेदारको भूमिका निर्वाह गर्छन् । विशेषगरी साँझ, राति र बिहान गोठ आसपास रुँगेर बस्ने कुकुरले अपरिचित मानिस वा जङ्गली जनावर देखेपछि चर्को स्वरमा भुकेर गोठालालाई सचेत गराउँछन् । आवश्यक पर्दा जनावरलाई लखेट्ने र प्रतिकार गर्ने भएकाले गोठालाको सुरक्षामा समेत सहयोग पुग्ने गरेको छ ।
पाउद्वारका किसान टेकजित तिलिजाका अनुसार टाढा पुगेका भेँडाबाख्रा फर्काउन र हराएका पशु खोज्न पनि कुकुरले सघाउँछन् । कुकुरले बथानका पशु कहाँ पुगेका छन् भन्ने पत्ता लगाउन र तिनलाई एकै ठाउँमा राख्न सहयोग गर्ने उहाँले बताउनुभयो ।
त्यस्तै, किसान मनिराम पाइजा गोठालाको जीवन कुकुरबिना कल्पना गर्न नसकिने बताउनुहुन्छ । पशु चराउन लैजाँदा बथानको पछिपछि लाग्ने कुकुरले अप्ठ्यारा भीरमा पशुलाई जानबाट रोक्ने, साँझ परेपछि गोठमा फर्काउन सघाउने र जङ्गली जनावरको उपस्थितिबारे जानकारी दिने उहाँको भनाइ छ ।
गोठमा पालिएका कुकुरलाई बिहान र बेलुका पिठोको खोले, भेँडाको दूध र मासु खुवाउने गरिन्छ । पशु चरनका लागि एक स्थानमा १० देखि १५ दिनसम्म गोठ राख्ने र त्यसपछि अर्को खर्कमा सार्ने परम्परासँगै कुकुर पनि गोठालासँगै लेकबेँसी गर्ने जीवनशैलीमा अभ्यस्त भएका हुन्छन् ।
बर्खायाममा धवलागिरि र अन्नपूर्ण हिमालको फेदी तथा ढोरपाटन क्षेत्रका बुकीमा पुगेका पशुगोठ चिसो बढेसँगै बेँसीतर्फ झर्न थालेका छन् । हिमाली चरन क्षेत्रलाई बुकी र गाईवस्तुको गोठ राख्ने स्थानलाई खर्क भनिन्छ । लेकमा पोषिलो घाँस खाएर मोटाएका पशु लिएर गोठाला आवश्यक बन्दोबस्तीका सामानसहित क्रमशः बेँसी झर्ने गर्छन् । बेँसीका खेतबारीमा घुम्ती गोठ राखेर पशुबाट प्राप्त मलमार्फत जमिनको उर्वराशक्ति बढाउने परम्परा पनि म्याग्दीमा कायमै छ ।
धवलागिरि गाउँपालिकाका गुर्जा, लुलाङ, लमसुङ, खोरिया, मुना, दर, मुदी, खिवाङ, फलियागाउँ र मल्कवाङ तथा रघुगङ्गा गाउँपालिकाका कुइनेखानी, पात्लेखर्क, मङ्गलेखानी, चिमखोला, दग्नाम र ठाडाखानीका किसानले परम्परागत घुम्ती गोठ प्रणालीमा पशुपालन गर्दै आएका छन् । त्यस्तै अन्नपूर्ण गाउँपालिकाका दोवा, दाना, नारच्याङ, पाउद्वार, शिख र राम्चेका किसान पनि यस पेसामा आबद्ध छन् ।
आधुनिक जीवनशैली, वैदेशिक रोजगारी र अन्य पेसामा बढ्दो आकर्षणका कारण परम्परागत घुम्ती गोठ प्रणाली चुनौतीमा पर्दै गएको छ । यद्यपि, विकट भूगोलमा पशुपालनलाई निरन्तरता दिइरहेका किसानका लागि भोटे कुकुरको महत्त्व अझै घटेको छैन । निर्जन जङ्गल, अग्ला पहाड र उकाली ओरालीको कठिन यात्रामा गोठालालाई साथ दिने यी बफादार जनावर पशुधनका रक्षक मात्र नभई पुस्तौँदेखि चल्दै आएको घुम्ती गोठ र पशुपालन संस्कृतिका अभिन्न सारथि बनेका छन् ।
