सुँघेर अपराध पत्ता लगाउनेदेखि विपदमा जीवन खोज्नेसम्म : सैनिक कुकुरको अद्भुत कला

सैनिक कुकुर

काठमाडौँ, कार्तिक २२ । मानिसले देख्न नसकेको खतरा पहिल्याउने, शङ्कास्पद वस्तुको पहिचान गर्ने, अपराधीको गन्ध पछ्याउँदै खोजी गर्ने र भग्नावशेषमा पुरिएका मानिसको अवस्थासमेत पत्ता लगाउने क्षमता । यी कुनै काल्पनिक दृश्य होइनन्, नेपाली सेनामा कार्यरत तालिम प्राप्त कुकुरले प्रदर्शन गर्ने वास्तविक सीप हुन् ।

कुकुर तिहारका अवसरमा भक्तपुरको सानोठिमीस्थित श्री भैरव वाहन गुल्ममा आयोजित ‘सैनिक डग कला प्रदर्शनी’मा तालिमप्राप्त कुकुरले यस्तै अद्भुत क्षमता प्रस्तुत गरे । उनीहरूले दौड, हाइजम्प, बेपत्ता व्यक्तिको खोजी, शङ्कास्पद वस्तुको निगरानी तथा पहिचान र अपराधीको गन्ध पछ्याएर खोजी गर्ने कला प्रदर्शन गरे ।

मानिसका लागि सामान्य देखिने कुकुरको सुँघ्ने क्षमता सुरक्षा निकायका लागि भने अनुसन्धान र सुरक्षाको महत्त्वपूर्ण आधार बनेको छ । यही क्षमतालाई तालिममार्फत उपयोग गरेर सैनिक कुकुरलाई विभिन्न सुरक्षा तथा खोजी कार्यमा परिचालन गरिँदै आएको छ ।

प्रदर्शनीको अवलोकनपछि नेपाली सेनाका उपरथी हरेन्द्र पाठकले कुकुरलाई कर्तव्यनिष्ठ, इमानदार र आज्ञापालक जनावरका रूपमा व्याख्या गर्नुभयो । हिन्दू धार्मिक मान्यतामा भैरवको वाहनका रूपमा पुजिने कुकुरले सुरक्षा निकायको काममा समेत महत्त्वपूर्ण योगदान दिँदै आएको उहाँले बताउनुभयो ।

उहाँका अनुसार कुकुरको सुँघ्ने क्षमता मानिसको तुलनामा अत्यन्त विकसित हुने भएकाले कतिपय अपराधका घटनामा गन्धकै आधारमा अनुसन्धान गर्न तालिमप्राप्त कुकुर परिचालन गरिन्छन् । मानिसले सामान्य रूपमा पहिचान गर्न नसक्ने गन्धसमेत पछ्याउन सक्ने भएकाले अपराध अनुसन्धान र सुरक्षा निगरानीमा कुकुर प्रभावकारी सहयोगी बनेका छन् ।

नेपाली सेनाको भैरव वाहन गुल्मले कुकुरलाई सुरक्षा प्रयोजनका अतिरिक्त खोजी तथा उद्धार कार्यमा समेत परिचालन गर्दै आएको छ । गुल्मका गुल्मपति सेनानी निज महराले सेनाको जिम्मेवारी निर्वाह, अतिविशिष्ट व्यक्तिको सवारी तथा विभिन्न कार्यक्रम सञ्चालन हुनुअघि सम्भावित जोखिम पहिचान गर्न कुकुर परिचालन गरिने जानकारी दिनुभयो ।

विशेषगरी अतिविशिष्ट व्यक्तिको सवारी वा महत्त्वपूर्ण कार्यक्रमस्थलमा शङ्कास्पद वस्तु तथा सम्भावित दुर्घटनाको जोखिम पहिचान गर्न तालिमप्राप्त कुकुरको प्रयोग गरिन्छ । त्यस्तै विभिन्न घटनाको अनुसन्धानमा कुकुरको प्रयोग गर्ने विधि र प्रक्रियाबारे पनि उहाँले जानकारी गराउनुभएको थियो ।

विसं २०६० वैशाख १ गते स्थापना भएको भैरव वाहन गुल्मले नेपाली सेनाको नियमित सुरक्षा जिम्मेवारीसँगै संयुक्त राष्ट्रसङ्घको शान्ति मिसनमा समेत कुकुर परिचालन गर्दै आएको छ । हराएका हतियार फेला पार्न, बेपत्ता नागरिकको खोजी गर्न तथा भूकम्प र अन्य प्राकृतिक विपद्मा भग्नावशेषभित्र पुरिएका व्यक्तिको अवस्था पत्ता लगाउन सैनिक कुकुरको सहयोग लिने गरिएको छ ।

विपद्का बेला मानिसले सहजै पुग्न नसक्ने वा आँखाले देख्न नसक्ने स्थानमा समेत कुकुरले गन्धका आधारमा खोजी गर्न सक्छन् । विशेषगरी भूकम्पपछि भत्किएका संरचनामुनि पुरिएका मानिसको खोजीमा यस्ता कुकुरको भूमिका महत्त्वपूर्ण हुने गरेको छ । यसरी तालिमप्राप्त कुकुर सुरक्षा र अनुसन्धानका साधन मात्र नभई विपद्का बेला जीवन बचाउने सहयोगीसमेत बनेका छन् ।

कार्यक्रममा मध्यपुरथिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठ, उपप्रमुख विजय श्रेष्ठ, विभिन्न वडाका अध्यक्ष तथा नेपाली सेनाका विभिन्न गुल्मका गुल्मपतिहरूले सैनिक कुकुरको कला प्रदर्शनी अवलोकन गर्नुभएको थियो । कुकुर तिहारका अवसरमा गुल्ममा रहेका सबै कुकुरको एकैसाथ पूजा गरिएको थियो ।

हिन्दू धार्मिक परम्परामा कुकुरलाई यमराजको दूत तथा भैरवको वाहनका रूपमा लिइन्छ । यमलोकका द्वारपालका रूपमा रहेका श्याम र सबल नामका कुकुरले यमलोक जाने बाटोमा सहयोग गर्ने धार्मिक विश्वासका आधारमा कुकुर तिहारमा तिनको पूजा गर्ने चलन रहेको छ ।

कुकुरलाई मीठा परिकार खुवाउने, माला लगाइदिने र पूजा गर्ने परम्पराले मानिससँगको यसको आत्मीय सम्बन्धलाई पनि प्रतिबिम्बित गर्छ । कर्तव्यनिष्ठ, अनुशासित, आज्ञाकारी र सुरक्षामा भरपर्दो जनावरका रूपमा चिनिने कुकुरको यही विशेषता सैनिक तथा सुरक्षा निकायका लागि अझ उपयोगी बनेको छ ।

घरको पहरेदारदेखि राष्ट्रको सुरक्षा, अपराध अनुसन्धान र विपद्मा उद्धारसम्म कुकुरले निर्वाह गर्दै आएको भूमिका कुकुर तिहारको अवसरमा आयोजित सैनिक डग कला प्रदर्शनीले उजागर गरेको छ । मानिस र कुकुरबीचको विश्वास, सहकार्य र आत्मीयताको सम्बन्धलाई यसले थप अर्थपूर्ण बनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *