प्रहरी केनाइन कार्यालयमा कुकुर तिहार मनाइयो : १०७ प्रहरी कुकुरबाट देशभर सेवा

कुकुर तिहार

काठमाडौँ,  कात्तिक २२ । यमपञ्चकको दोस्रो दिन कुकुर तिहारका अवसरमा नेपाल प्रहरीको केनाइन कार्यालय महाराजगञ्जमा कुकुर पूजा गरिएको छ ।

कार्यालयले आज विशेष कार्यक्रम आयोजना गरी त्यहाँ रहेका विभिन्न जातका प्रहरी कुकुरको पूजा तथा सम्मान गरेको हो । नेपाल प्रहरी प्रधान कार्यालय, अपराध अनुसन्धान विभागका प्रहरी नायब महानिरीक्षक ओमबहादुर रानाले प्रहरी कुकुरको पूजा गर्नुभएको थियो ।

सो अवसरमा प्रहरी नायब महानिरीक्षक रानाले शान्ति सुरक्षा कायम गर्न, अपराध अनुसन्धान गर्न तथा खोज तथा उद्धार कार्यमा प्रहरी कुकुरको भूमिका महत्त्वपूर्ण रहेको बताउनुभयो । गम्भीर प्रकृतिका घटनाको अनुसन्धान तथा बेपत्ता व्यक्तिको खोजीमा कुकुरले पुर्‍याएको योगदानको उहाँले प्रशंसा गर्नुभयो ।

गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीपछि बेपत्ता भएका करिब २४ जनाको शव कुकुरकै सहयोगमा पत्ता लगाउन सहज भएको उहाँले जानकारी दिनुभयो । नेपाल प्रहरीको केनाइन कार्यालय स्थापनाकालदेखि नै अपराध अनुसन्धानमा प्रभावकारी योगदान गर्दै आएको उहाँको भनाइ थियो ।

कार्यक्रममा केनाइन कार्यालयका प्रमुख प्राविधिक प्रहरी उपरीक्षक डा रामचन्द्र सत्यालले विसं २०२६ मा स्थापना भएको कार्यालयले हाल देशभरका १४ स्थानबाट सेवा प्रदान गर्दै आएको जानकारी दिनुभयो । उहाँका अनुसार अहिले नेपाल प्रहरीका केनाइन केन्द्रमा विभिन्न प्रयोजनका लागि प्रशिक्षित १०७ वटा कुकुर रहेका छन् ।

कार्यालयका प्राविधिक प्रहरी नायब उपरीक्षक डा चेतनारायण ज्ञवालीले प्रहरीको कार्यसम्पादनलाई प्रभावकारी बनाउन कुकुरको भूमिका महत्त्वपूर्ण रहेको बताउनुभयो ।

कार्यक्रममा यस वर्ष उत्कृष्ट कार्यसम्पादन गर्ने कुकुरलाई सम्मान तथा पुरस्कृत गरिएको थियो । त्यस्तै बाधापार, हाइजम्प र दौड प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने कुकुरलाई पनि पुरस्कार प्रदान गरिएको थियो । उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई समेत पुरस्कृत गरिएको कार्यालयले जनाएको छ ।

कार्यक्रममा प्रहरी कर्मचारी र प्रहरी कुकुरले हातहतियार तथा विस्फोटक पदार्थको खोजी र पहिचान, लागुऔषध पहिचान, अपराधीको खोजी, व्यक्तिगत सुरक्षा, आज्ञापालन, हाइजम्प, दौड तथा बाधापारसम्बन्धी सीप प्रदर्शन गरेका थिए । साथै खोजी तथा उद्धार कार्यमा प्रहरी कुकुरको दक्षता पनि प्रस्तुत गरिएको थियो ।

अपराध अनुसन्धानदेखि विपद्का बेला खोज तथा उद्धारसम्म महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएका प्रहरी कुकुरको योगदानको कदर गर्दै कुकुर तिहारका अवसरमा हरेक वर्ष विशेष पूजा तथा सम्मान कार्यक्रम आयोजना गरिँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *