नवलपुरको कावासोती नगरपालिकाले दियाे दुग्ध उत्पादक किसानलाई अनुदान

नवलपरासी (बर्दघाट सुस्तापूर्व), २० असार । नवलपुरको कावासोती नगरपालिकाले दुग्ध उत्पादक किसानलाई अनुदान दिएकाे छ । नगरपालिकाले नगरभित्र रहेका दुग्ध उत्पादक किसानलाई उत्पादनका आधारमा अनुदान रकम प्रदान गरेको हो ।

नगरपालिकाले किसानलाई उत्पादनका आधारमा रु २६ लाख २० हजार अनुदान प्रदान गरेको छ । किसानलाई पालिकाले प्रतिलिटर डेढ रुपैयाँका दरले अनुदान उपलब्ध गराएको कावासोती नगरपालिका पशु विकास शाखाका प्रमुख डा टेकराज पौडेलले बताउनुभयो ।

चालु आर्थिक वर्ष २०७९/८० मा पालिकाभित्रका चार सहकारीमार्फत किसानलाई अनुदान उपलब्ध गराएको हो । यस वर्ष चार सहकारीमार्फत सङ्कलित १७ लाख ४७ हजार दुई सय लिटर दूधका लागि अनुदान उपलब्ध गराएको उहाँले बताउनुभयो ।

कावासोती–२ को शिवमन्दिर महिला बहुउद्देश्यीय सहकारी, कावासोती–८ को एकीकृत दुग्ध विकास सहकारी, कावासोती–१४ को साना किसान कृषि सहकारी र कावासोती–१७ को जनकल्याण दुग्ध विकास सहकारी मार्फत सङ्कलित दूधका लागि अनुदान प्रदान गरिएको हो ।

कावासोती नगरपालिकाले चार वर्षदेखि किसानलाई दूधमा अनुदान दिंदै आएको छ । चार वर्षको अवधिमा नगरपालिकाले दुग्ध उत्पादक किसानलाई रु एक करोड १६ लाख अनुदान उपलब्ध गराएको छ ।

नगरप्रमुख विष्णुप्रसाद भुसालले अनुदानबाट किसानलाई उत्पादनमा जोड दिन मद्दत पुग्ने बताउनुभयो । आगामी आव २०८०/८१ मा दूधको अनुदान रकम वृद्धि गरिने उहाँले बताउनुभयो । किसानलाई उत्पादन लागत घटाउन, थप अनुदान, आवश्यक सहयोगसहित बजारीकरण सहज बनाउन आवश्यक कार्यक्रम सञ्चालन गर्ने नगरपालिकाको योजना छ ।